खेल


बजेट अभावमा ६ वर्षदेखि अलपत्र बेनीको खेलमैदान फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

बजेट अभावमा ६ वर्षदेखि अलपत्र बेनीको खेलमैदान फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

नेपालखबर
असार ८, २०८२ आइतबार १६:४२, म्याग्दी

जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको छ। खेलमैदानको दायाँतर्फ रहेको कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको सतह भन्दा माथि दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिट बनाउन लागिएको हो। 

चार तहको २० मिटर लामो प्यारापिट बनाउन रु १९ लाख ९३ हजारमा ठेक्का सम्झौता गरेको कस्तुरी कन्स्ट्रक्सनले ढलानको काम थालेको बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले बताए। कालीगण्डकी नदीतर्फ खेलमैदान विस्तार गर्न यसअघि उठाइएको पिल्लरमाथि प्यारापिट बनाउन चालु आवमा नगरपालिकाले रु २५ लाख र सङ्घीय सरकारले रु २० लाख बजेट विनियोजन गरेको थियो।

सङ्घीय सरकारको योजनामार्फत थप करिब १५ मिटर प्यारापिट बनाउन उपभोक्ता समितिले सम्झौता गरेका छन्। चालु आर्थिक वर्षमा दुई वटा शीर्षकका आयोजनामार्फत करिब ३५ मिटर प्यारापिट तयार पार्ने लक्ष्यका साथ काम भइरहेको छ।

‘यसअघि ९७ मिटर भएको बेनी खुला मञ्चको खेलमैदानको लम्बाइ विस्तार गरेर १०० मिटर बनाएका छौँ’, वडाध्यक्ष श्रेष्ठले भने, ‘३८ मिटर चौडाइ भएको खेलमैदानलाई ४५ मिटर चाक्लो बनाउन म्याग्दी नदीको किनारमा पर्खाल उठाएर प्यारापिट बनाइसकिएको छ।’ 

एघार/एघार जना फुटबल खेलाउन मिल्ने बनाउन गत वर्ष बेनी भगवती मन्दिरको पर्खाललाई तीन मिटर पछि सारेर खैलमैदानको लम्बाइ १०० मिटर बनाइएको थियो। खेलमैदानको क्षेत्रफल विस्तार गर्न बेनी नगरपालिकाले गत आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको थियो।

सो बजेटबाट खेलमैदानमुनि कालीगण्डकी र म्याग्दी नदीको दोभानमा दुई कोठे मलामी घर र मन्दिर परिसरको पर्खाल सारिएको वडाध्यक्ष श्रेष्ठले बताए। मलामी घरको माथिल्लो भागमा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीमार्फत ११ वटा सार्वजनिक शौचालय निर्माण गरेको छ।

‘बेनी मिनि रङ्गशाला’ म्याग्दी जिल्लाको प्राथमिकता प्राप्त र बेनी नगरपालिकाको गौरवको आयोजना हो। यसअघि म्याग्दी नदीको किनारतर्फ १०५ मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाएर त्यसमाथि करिब १०० मिटर लामो प्यारापिट बनाइएको थियो।

दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिटको बाहिरी भागमा बल बाहिर जान नदिन र अग्लो तारजाली लगाइएको छ। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको थियो।

फुटबल, क्रिकेट र एथलेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुला मञ्च हो। जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ।

हाल नौरनौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको समूह खेलाउन सकिन्छ। हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ। विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु एक लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो।

आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ मा बजेटविहीन हुँदा अलपत्र बनेको बेनी खेलमैदान योजनालाई पूर्णता दिन यसअघिका दुई आर्थिक वर्षमा बेनी नगरपालिकाले रु ५०/५० लाख बजेट व्यवस्थापन गरेको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad