राजनीति


इजरायलबाट नेपाल फर्किन ६०० नेपालीले टिपाए नाम

इजरायलबाट नेपाल फर्किन ६०० नेपालीले टिपाए नाम

नेपालखबर
असार ६, २०८२ शुक्रबार १७:१२, काठमाडौँ

परराष्ट्र मन्त्रालयले इजरायलबाट नेपाल फर्कन ६ सयजनाले नाम टिपाएको जनाएको छ। इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टल खोलेर विवरण लिन सुरू गरिएको थियो। 'उक्त पोर्टलमा हालसम्म ६०० जनाभन्दा बढीले विवरण दर्ता पनि गराइसकेका छन्। यो क्रम जारी नै छ,'परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयले गत बुधबार नै दोस्रोपटक ट्राभल एड्भाइजरी जारी गरेर हाल इजरायल तथा इरानमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन र नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण नगर्न अनुरोध पनि गरिएको थियो। 

शुक्रबार परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरू अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेहरूलाई उद्धार गर्ने तयारीमा रहेको बताएकी छन्। 

मन्त्री डा. राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारेमा छलफलका क्रममा सो जानकारी गराएकी छन्। 

मन्त्री डा. राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रूपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको जानकारी दिइन्। स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमा सरकार रहेको पनि स्पष्ट पारिन्।

'जिटुजी प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व हो। त्यसका लागि सीमा क्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ। नेपालीहरू स्वदेश फर्कन चाहेमा उहाँहरूको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ,' उनले भनिन्।

सो बैठकमा श्रममन्त्री शरदसिंह भण्डारीले मन्त्रालय पनि त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको र उनीहरू स्वदेश फर्कन चाहेमा उद्धारको तयारीमा नेपाल सरकार लाग्नुपर्ने बताए। उनले हाल इजरायल जाने अन्तिम तयारीमा रहेकाहरूलाई श्रम स्वीकृति नदिइ रोकी राखिएको पनि बताए।  

यही जुन १३ मा इजरायल र इरानबीच युद्ध सुरु भएकै दिन परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् दुवै पक्षलाई अधिकतम संयमता अपनाउन र वार्ताद्वारा समस्या समाधान गर्न अपिल गर्दै ती मुलुकमा रहेका नेपालीहरूलाई सम्बन्धित नेपाली राजदूतावासहरूसँग सम्पर्कमा रहन अनुरोध गरेको थियो। 

त्यसपछि जुन १५ मा सम्पर्क विवरणसहितको ट्राभल एड्भाइजरी जारी गरी सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन नेपालीहरूलाई अनुरोध गरिएको थियो। ती मुलुकहरूमा हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीहरूलाई अनलाइन भिसा उपलब्ध गराउने लगायतका काममा सहजीकरण गरिदिन खाडीस्थित सबै नेपाली नियोगहरूलाई परराष्ट्र मन्त्रालयले गत बुधबार नै निर्देशन दिएको छ।  

यसै हप्ता नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बाससँग परराष्ट्र मन्त्री डा. राणाले भेट गरी नेपाली नागरिकहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउन इजरायल सरकारलाई अनुरोध गरेकी थिइन्।

त्यसैगरी इजरायलस्थित नेपाली राजदूतावास र इरान हेर्ने कतारस्थित नेपाली राजदूतावासलाई सम्बन्धित सरकारी अधिकारीहरू, यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरू र नेपाली समुदायसँग निकटको सम्पर्क स्थापित गर्न र सोका सम्बन्धमा मन्त्रालयलाई ‘रियल टाइम रिपोर्टिङ’ गर्न निर्देशन दिइएको छ। हाल इजरायलमा पाँच हजार ५०० देखि सात हजार नेपाली रहेका र तीमध्ये धेरैजसो तेल अभिभ, जेरुसेलम र हाइफामा रहेका छन्। त्यस्तै, इरानमा १८ जना नेपाली रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad