राजनीति


हार्वर्डमा अध्ययन गरेका शेर्पा प्रधानमन्त्रीको आग्रहमा स्वदेश फर्किएपछि...

हार्वर्डमा अध्ययन गरेका शेर्पा प्रधानमन्त्रीको आग्रहमा स्वदेश फर्किएपछि...

नेपालखबर
असार ४, २०८२ बुधबार ६:५६, काठमाडौँ

विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहपछि स्वदेश फर्किएका संयुक्त राज्य अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाले प्रधानमन्त्री ओलीसँग भेट गरेका छन्।

शेर्पा प्रधानमन्त्री ओलीको आग्रहपछि स्वेदश फर्किएका हुन्। तीन महिना अघि स्वदेश फर्किएका शेर्पाले जनस्वास्थ्यका क्षेत्रका अनुसन्धान परियोजना सञ्चालन गर्दै आएका छन्।

गत वर्ष संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर अमेरिकाको बोस्टनस्थित हार्वर्ड  विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन भएका दिन त्यहाँस्थित विश्वविद्यालयमा विभिन्न विषयमा अध्यापन र अध्ययनरत नेपाली शिक्षक–विद्यार्थीहरुसँग संवाद गरी प्रधानमन्त्री ओलीले आफूले पाएको ज्ञान र अनुभवलाई स्वदेशमा उपयोग गर्न आग्रह गरेका थिए। 

त्यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणमा कुनै कमी नहुने विश्वास पनि ओलीले दिलाएका थिए।

प्रधानमन्त्री ओली स्वदेश फिर्ता भएपछि त्यहाँ भेट भएका नेपाली शिक्षक–विद्यार्थी सबैलाई सम्बोधन गरी पत्र पठाइ मेधावी विद्यार्थीले मातृभूमिको समृद्धि र हितका लागि साथ दिन उनले आग्रह गरेका थिए। 

प्रधानमन्त्री ओलीको पत्रबाट उत्साहित हुँदै शेर्पाले बेलायतको ब्रिष्टल विश्वविद्यालयसँगको सहकार्यमा ब्राइट भिजन फाउण्डेशन दर्ता गरी नेपालका नसर्ने रोगहरुको अवस्था, त्यसको उपचार तथा उपयुक्त पोषणका विषयमा जनस्वास्थ्यसम्बन्धी १० करोड रुपैयाँ लागतमा अनुसन्धान परियोजना सञ्चालन गरेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन्। 

उक्त पाँच वर्षे परियोजनाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग पनि सहकार्य गर्ने शेर्पाले बताए।

फाउण्डेशनले सोलु्खुम्बुमा स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार सात सयलाई सेवा दिइसकेको छ भने जिल्लामा ग्रामीण भेगका मानिसलाई लक्ष्य गरी ब्राइट फ्युचर कम्प्युटर सेन्टरमार्फत निःशुल्क तालिम सञ्चालन गरेको छ। 

सोलुखुम्बुको सल्लेरीका शेर्पाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा इम्युनोलोजी विषयमा छात्रवृत्ति पाइ अध्ययन पूरा गरेका छन्। 

उनले अनुसन्धानका क्षेत्रमा सरकारले कम्तीमा एक प्रतिशत बजेट विनियोजन गर्नुपर्ने र नेपालको अनुसन्धानात्मक जर्नलहरुलाई सबल बनाइ अन्तर्राष्ट्रियस्तरमा सञ्चार गराउन सुझाव दिएका ओलीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले विदेशमा उच्चशिक्षा हासिल गरेर स्वदेशमा केही गर्छु भन्ने अठोट लिएकोमा शेर्पाप्रति धन्यवाद दिँदै थप उज्वल भविष्यको कामना गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad