राजनीति


एमाले-कांग्रेस सहकार्यमा जोड दिँदै ईश्वर पोखरेलले भने: नाम वामपन्थी भन्ने, काम अर्कै गर्ने!

एमाले-कांग्रेस सहकार्यमा जोड दिँदै ईश्वर पोखरेलले भने: नाम वामपन्थी भन्ने, काम अर्कै गर्ने!

फाइल तस्बिर: एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल


नेपालखबर
जेठ २९, २०८२ बिहिबार १४:१३, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेससँगको सहकार्यमा जोड दिँदै वामपन्थी एकताको आह्वानप्रति आक्रोश व्यक्त गरेका छन्। 

राष्ट्रिय समाचार समितिले आयोजना गरेको तस्बिर प्रदर्शनीको अवलोकनपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले नाम वामपन्थी भन्ने तर काम अर्कै गर्ने गरिएको टिप्पणी गरेका हुन्। 

‘वामपन्थी तालमेलभन्दा पनि ‘कामपन्थी’ तालमेल हुनुभएन। नाम वामपन्थी भन्ने कर्म भने अर्कै गर्ने! अनि हामीले भन्दिनुपर्ने वामपन्थी एकता’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भनेका छन्,  कामका आधारमा कुरा मिल्नेसँग एकताबद्ध हुँदै जानुपर्छ। अहिले खासमा वामपन्थी र वाममोर्चा भनेर खाली कुराका लागि कुरा गर्ने मात्र काम भएको छ।’

बरु उनले देश संकटमा परेका बेला जहिले कांग्रेस–एमालेबीचको सहकार्यले महत्त्वपूर्ण भूमिका खेलेको जिकिर गरे। 

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले २००७ सालमा प्रजातन्त्र ल्याउन, २०१७ सालको प्रजातन्त्र विरोधी अभियानको प्रतिकार गर्न, २०३६ को जनमत संग्रह गराउन, २०४६ को जनआन्दोलनलाई निर्णयमा पुर्‍याउन, विसं २०६२/६३ को प्रतिगमनविरुद्धको आन्दोलनलाई निष्कर्ष पुर्‍याउन र संविधानसभाबाट संविधान जारी गर्ने सन्दर्भमा एमाले र कांग्रेसबीच सहकार्य भएको सुनाए। 

मुलुकमा ऐतिहासिक राजनीतिक परिवर्तन गर्न र राष्ट्रिय संकट परेका बेला देश जोगाउन दुई ठूला रानीतिक पार्टीबीच समझदारी हुने गरेको भए पनि एमाले र कांग्रेस एकअर्काका प्रतिस्पर्धी शक्ति हुन् भन्ने बिर्सन नहुने पनि उनले बताए। 

उनले भने, ‘विसं २०४७ सम्म र पछि नयाँ संविधान जारी नभएसम्मको परिस्थितिलाई हामीले बुझ्न आवश्यक छ। २०७२ सालपछिका कालखण्डको तस्बिर हेर्दा थाहा हुन्छ। यसबीचमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्, प्रतिव्यक्ति आम्दानी, गरिबीको रेखामुनि रहेका जनताको प्रतिशतमा आएको सुधारलाई लिन सकिन्छ, होला अपेक्षा गरिएअनुसारका काम नभएपनि पछिल्ला दिनमा देशमा उल्लेखनीय काम भएका छन्, जिम्मेवार सबै पक्षको समन्वय र सहकार्यमा मुलुकको विकास र समृद्धिलाई अझ गति दिन आवश्यक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad