पार्टीभित्र सचिवालयको बैठक बोलाउन नेताहरुले दबाब दिएपछि सत्तारुढ नेकपाको सचिवालय बैठक मंगलबार बस्ने भएको छ। चैत ५ गतेपछि नेकपाको सचिवालयको बैठक बस्न सकेको छैन।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अपरान्ह सचिवालय बैठक बोलाएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेपालखबरलाई जानकारी दिए।
बैठकमा कोरोना भाइरसबाट जोगिने उपाय, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता लगायतका विषयमा छलफल हुनेछ। कोरोनाको कारण देशमा लकडाउनको अवधि सरकारले दोस्रो पटक थप गरेर वैशाख ३ गतेसम्म पुर्याएको छ।
प्रधानमन्त्री सक्रिय हुनुपर्ने बेला मौन बसेको भन्दै पार्टीमा तीव्र आलोचना भइरहेको बेला नेकपाको सचिवालय बैठक डाकिएको हो।
यसअघि प्रवक्ता नारायण काजी श्रेष्ठले पार्टीको सचिवालय बैठक तत्काल बोलाउन माग गरेका थिए। सचिवालयका अन्य नेताहरुले पनि कोरोनाको कारण चुलिँदै गएको समस्याको समाधानका लागि पार्टीको सचिवालयको बैठकले ठोस निष्कर्ष निकाल्नुपर्ने बताउँदै बैठकको माग गरेका थिए।
मंगलबार सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
Shares

प्रतिक्रिया