राप्रपा नेपालका अध्यक्ष कमल थापा राजा फर्काउने भन्दै गरिएको प्रदर्शनबाट आइतबार पक्राउ परे।
गणतन्त्रको विरोधमा सडकमा उत्रिएका थापालाई प्रहरीले लछारपछार गर्दै काठमाडौँको नारायणचौरबाट पक्राउ गरेको हो। आन्दोलनबाट थापासहित अन्य ७ जनालाई नियन्त्रणमा लिएको छ।
थापालाई पक्राउ गर्दाको तस्बिर र दृश्यले यतिबेला सामाजिक सञ्जाल तताएको छ। किनभने, उनी केवल एक प्रदर्शनकारी मात्र नभएर पूर्वगृहमन्त्री हुन्। र, लोकतान्त्रिक गणतन्त्रका लागि २०६२-६३ मा भएको जनआन्दोलनमाथि दमन गर्न मुख्य भूमिका पनि गृहमन्त्रीका रूपमा उनले नै खेलेका थिए।
अझ रोचक पक्ष त के छ भने थापा गत आम निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हबाट प्रतिनिधि सभामा पाइलो टेक्ने प्रयासमा थिए। मकवानपुर क्षेत्र नम्बर १ बाट सूर्य चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रन थापाले निकै संघर्ष खेप्नुपरेको थियो।
एमाले मकवानपुरले यस क्षेत्रका लागि रामेश्वर रानाको नाम फाइनल गरिसकेको थियो। जिल्ला कमिटीको समर्थनलाई स्वीकार गर्दै रानाले चुनावी अभियान २०७९ वैशाखबाट नै सुरु गरिसकेका थिए। ४ मंसिर २०७९ मा हुने आम निर्वाचनका लागि राना तयारीमा जुटिरहँदा उनको चुनावी यात्रामा ब्रेक लगाउन आइपुगेका थिए, थापा।
२३ असोज २०७९ मा मनोनयन दर्ता गराउने मिति तोकियो। उता एमाले अध्यक्ष केपी शर्मा ओलीको आर्शिवाद पाएर गृहजिल्ला मकवानपुर हानिएका थापालाई एमाले पार्टी कार्यालयमा प्रवेश दिइएन। रानालाई नै टिकट दिनुपर्छ भन्ने एक पक्षको नाराले पार्टी कार्यालयमा तनाव सिर्जना भयो। तर केन्द्रबाटै टिकट गोजीमा पाएका थापा निर्धक्क भएर मनोनयन दर्ता गराए।
मनोनयन दर्ता गर्न उनी भाइ गणेश थापा, श्रीमती र राप्रपा नेपालका नेता राजाराम बर्तौलालाई साथ लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। आफ्नो चुनाव चिन्हमा विश्वास नलागेर थापाले एमालेको सूर्य चुनाव चिन्हबाटै निर्वाचनमा होमिएका थिए।
पार्टी अध्यक्ष ओलीले गणतन्त्र पक्षधर आफ्नो पार्टीका कार्यकर्ताको टिकट खोसेर चुनाव चिन्ह दिँदै गुन लगाएका थापा अहिले गणतन्त्रकै विरोधमा उत्रँदा पक्राउ परे। तीनवर्ष अघि ओलीले सांसद बन्ने अवसर दिएका थापाले यो अवसरको उपयोग गर्न त पाएनन्। बरु उनै ओलीले देशको नेतृत्व गरिरहेका बेला गणतन्त्रविरोधी आन्दोलनमा थापा पक्राउ परे।
भिडिओ:
त्यसो त, गत आम निर्वाचनमा राप्रपाका नेता दीपकबहादुर सिंहसँग पानी बाराबारकै स्थिति थियो थापाको। राप्रपाबाट अलग भएर राप्रपा नेपाललाई ब्युँताएका थापा एमालेको चुनाव चिन्ह बोकेर चुनावी मैदानमा उत्रिएका थिए। उनका कट्टर प्रतिद्वन्द्वी थिए सिंह। उतिबेला केन्द्रमा एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच राम्रै सम्बन्ध थियो।
मकवानपुर प्रतिनिधिसभा–१ मा भने त्यो सम्बन्धले घाटा लाग्ने त्रासमा थिए सिंह। ओलीले टिकट थमाएका थापासँग उनको चुनावी प्रतिस्पर्धा हुँदै थियो। सोही असर चुनावी माहोलमा पर्ला भन्ने त्रास थियो। जसका कारण हरेक चुनावी कार्यक्रममा थापा र सिंहले एक अर्कालाई दोषरोपण गरिरहन्थे। तथापि, चुनावी नतिजा भने राप्रपाका नेता सिंहकै पोल्टामा पर्यो। सिंहले २७ हजार ८१६ मत प्राप्त गर्दा थापाले २५ हजार ४२० मत प्राप्त गरेका थिए।
बाहिरी पार्टीको व्यक्तिलाई टिकट र चुनाव चिन्ह नै दिएको भन्दै असन्तुष्ट रहेका एमाले कार्यकर्ताहरूले समेत केन्द्रको निर्देशनपछि थापालाई खुलेरै सहयोग गरे। सूर्य चुनाव चिन्हको झण्डा बोक्दै राजावादी पार्टीका नेतृत्व गरिरहेका थापाको अनुहार मतदातामाझ चिनाइदिए। मनोनयन दर्ता गरेको २३ असोज २०७९ देखि मतगणना सम्पन्न भएको ८ मंसिर २०७९सम्म थापा र ओली एकै पार्टीका दुई नेताजस्ता थिए।
त्यसो त २०७२ मा संविधान जारी भएलगत्तै बनेको सरकारमा केपी शर्मा ओलीले नै थापालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाएका थिए। नयाँ संविधानअन्तर्गत गठित पहिलो सरकारमै उपप्रधानमन्त्रीको पद खाएका थापा अहिले यही संविधानको विरोधमा सडकमा उत्रिएका छन्। जबकि, यसबीचमा उनले राजतन्त्रको एजेन्डा छाडिसकेको घोषणा समेत गरिसकेका हुन्।
Shares

प्रतिक्रिया