राजनीति


ओलीसँग कुरा गरेपछि प्रचण्ड- कांग्रेसलाई खुसी पार्न फोन गरेका रहेछन्

ओलीसँग कुरा गरेपछि प्रचण्ड- कांग्रेसलाई खुसी पार्न फोन गरेका रहेछन्

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८२ बुधबार १३:५२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई खुसी पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट आफूलाई फोन गरेको हुन सक्ने बताएका छन्। 

बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिपक्षी दलहरूको बैठकमा रहेकै बेला प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई फोन गरेका थिए। 

प्रचण्ड सहभागी विपक्षी दलहरूको बैठक भिजिट भिसा प्रकरणमा संलग्नताको आरोप लागेका गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराएरै छाड्ने र राजीनामा नआउञ्जेल सदन चल्न नदिने विषयमा छलफलका लागि बसेको थियो।

प्रधानमन्त्री ओलीको फोनचाहिँ संसद बैठक नरोक्न अनुरोधका लागि थियो।

‘प्रश्न उठ्नेबित्तिकै, मिडियामा समाचार आउनेबित्तिकै, खरदार–सुब्बा तानिनेबित्तिकै मन्त्रीले राजीनामा दिनुपर्ने कुरा कहाँ लेखिएको छ?’ प्रचण्डसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘त्यसैले संसद चल्न दिनुपर्‍यो, गृहमन्त्रीलाई संसदमा जवाफ दिने वातावरण पनि सिर्जना गरिदिनुपर्‍यो।’

बैठकमा सहभागी माओवादी केन्द्रका सांसद माधव सापकोटाका अनुसार, जवाफमा प्रचण्डले गृहमन्त्रीको राजीनामाबिना संसद सञ्चालन हुन नसक्ने बताएका थिए।

‘गृहमन्त्रीको राजीनामा नआई संसद चल्न सक्दैन,’ प्रचण्डको जवाफ थियो, ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकै संलग्नताका प्रमाणहरू एकपछि अर्काे गरी आइरहेका छन्। त्यसैले तपाईंले गृहमन्त्रीको राजीनामा गराएर संसद खुल्ने वातावरण बनाउनुपर्‍यो।’ 

त्यसपछि ओलीले संसद अवरुद्ध गरिरहँदा राजावादीहरूलाई फाइदा पुग्ने दाबी गरे।

प्रचण्डले जवाफ फर्काए, ‘भिजिट भिसाजस्तो गम्भीर प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र उनीमाथिको छानबिनको मागले राजावादीलाई सहयोग पुग्ने होइन, बरु गणतन्त्र बलियो बनाउन सहयोग पुग्छ।’

यसपछि ओलीले धेरै सवालजवाफ गरेनन्। 

खासमा प्रतिपक्षी दलहरूको बैठक गृहमन्त्रीको राजीनामाको विषयलाई अझ सशक्त बनाउने रणनीति तय गर्नका लागि थियो। त्यही जानकारी पाएर ओलीले बैठकमा रहेका प्रचण्डलाई फोन गरेका थिए। 

ओलीसँगको फोनर्वार्ताबारे प्रचण्डले प्रतिपक्षीहरूको बैठकमा सहभागीहरूलाई जानकारी गराई सक्दा नसक्दै बालुवाटारमा गृहमन्त्री रमेश लेखकसहित प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवाबीच बैठक बसेको समाचार सार्वजनिक भइसकेको थियो।  

ओलीसँगको फोनवार्ताबारे जानकारी गराइसक्दा नसक्दै  प्रचण्डले बालुवाटारमा जारी प्रधानमन्त्री ओली, सभापति देउवा र गृहमन्त्री लेखकको बैठकबारे जानकारी प्राप्त गरे।

फोनवार्तामा ओली आफ्नो स्वभावविपरीत अलिक नरम रूपमा प्रस्तुत भएका थिए। ओली नरम रूपमा नै प्रस्तुत भएको जानकारी बैठकमा उपस्थित अन्य दलका नेताहरूलाई प्रचण्डले गराएका थिए।  

तर, जब बालुवाटारमा पनि ओली–देउवा बैठक भइरहेको र बैठकमा गृहमन्त्री लेखक पनि रहेको जानकारी प्रचण्डले प्राप्त गरे, तत्कालै उनले आफ्नो विश्लेषण सुनाए, ‘ए, लेखक र देउवाजी पनि बालुवाटारमै रहेछन्! त्यसो भए कांग्रेसलाई खुसी पार्न फोन गरेका होलान्।’

सम्बन्धित खबर- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad