काठमाडौँ महानगरका मेयर बालेन शाह र महानगरका प्रवक्ता समेत रहेका वडा न. १७ का वडाध्यक्ष नवीन मानन्धरबीचको सम्बन्ध गत चैत २१ गतेसम्म ‘हार्दिक’ नै थियो। मानन्धरको भनाइमा स्वतन्त्र जितेका मेयर शाहलाई सहज हुनेगरी उनले कांग्रेस र एमालेसँग मध्यस्थता गरिरहेकै थिए।
तर, जब उपमेयर सुनिता डंगोलसहित महानगरका वडाध्यक्षहरू र कर्मचारीले बालेनले निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा फिर्ता ल्याए, त्यस दिनयता प्रवक्ता मानन्धरसँग बालेनको खटपट सुरु भएको हो।
मेयरसँग खटपट बढेपछि दुई साताअघि सूचनाप्रविधि समितिबाट निकालिएका मानन्धर अहिले फेरि स्पष्टीकरण सोधिएका कारण चर्चामा छन्। एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा बालेनबारे व्यक्तिगत टिप्पणी गरेको आरोपमा उनीमाथि जेठ ८ गते स्पष्टीकरण सोधिएको हो।
‘योहो टीभीमा बोलेको कुराले व्यक्तिगत जीवनमा हानि पुर्याएको भन्ने छ। मैले त जे सोधिएको थियो, त्यहीअनुसार जवाफ दिएको हो,’ प्रवक्ता मानन्धरले आइतबार नेपालखबर ‘तत्कालै’मा भने, ‘यो सबै हेर्दा काठमाडौँ महानगरको प्रमुख विश्वमै परिचित भइसकेको व्यक्तिको प्रतिद्वन्द्वी त नवीन मानन्धर पो रहेछ भन्ने कताकता हावा आयो कि जस्तो लाग्यो।’
‘पहिले त तपाईं बालेनसँग नजिक भएकै कारण तपाईंलाई प्रवक्ता बनाए भनिन्थ्यो। कहिलेदेखि कुरा मिल्न छाड्यो?’

मेयरको आदेश भन्दै कार्यालय प्रवेश गर्न रोक लगाएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले स्पष्टीकरण सोधेको २ दिनपछि बालेन सचिवालयले मानन्धरलाई स्पष्टीकरण सोधेको हो। पाण्डेलाई जेठ ६ गते ‘अनुशासनहीन आचरण’ गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो। अहिले प्रवक्ता मानन्धरलाई सोधिएको स्पष्टीकरणलाई कतिपयले त्यसकै ‘काउन्टर’ पनि भनिरहेका छन्।
तर, प्रवक्ता मानन्धर त्यसमा प्रष्ट छैनन्।
‘राजु पाण्डेलाई स्पष्टीकरण प्रमुख प्रशासकीय अधिकृतलाई छेकेको कुरामा सोधेको हो। अहिले मलाई टीभीमा बोलेको कुरा अपाच्य भयो भनेर हो। त्यो पनि टीभीमा बोलेको दुई महिनापछि। खाएको दिन नै अपच हुनुपर्ने हो। होइन र?’ मानन्धरले भने।
हामीले प्रतिप्रश्न गर्यौँ– मेयरले तपाईंलाई प्रवक्ताबाट हटाउन खोजेको खोजेका हुन्?
जवाफमा उनले त्यस्तो हुनसक्ने स्वीकारे।
‘मलाई सूचना प्रविधि समितिबाट हटाएपछि अरु जिम्मेवारीबाट हटाउन खोज्नु स्वाभाविक हो,’ उनले भने, ‘प्रवक्ता हटाउन कार्यपालिकाले नै निर्णय गर्नुपर्छ। बालेन एक्लैले चाहेर सक्नुहुन्न। हाम्रो कारणले जनतालाई हँसाउने काम गर्नुहुन्न, जनतालाई समस्या पार्ने काम गर्नुहुन्न भन्ने हो।’
महानगरमा मेयर र अन्य जनप्रतिनिधि र कर्मचारीबीच द्वन्द्व बढ्दा जनताको समस्या समाधान र महानगरको विकासमा बाधा उत्पन्न भएको मानन्धर बताउँछन्।
‘यो द्वन्द्व हुनुहुन्न। जनप्रतिनिधिको आन्तरिक द्वन्द्व हुनसक्ला। तर बाहिर देखिनेगरी जनताको काममा प्रभाव पार्न हुन्न भन्ने हो। कुनै पनि कारणले नगरसभा अवरुद्ध हुनुहुन्न भन्ने हो,’ उनले भने।

हामीले सोध्यौँ– तपाईं सबै वडाध्यक्षहरू मिलेर स्वतन्त्र मेयर बालेनलाई एक्ल्याएको आरोप छ नि?
‘हामीले एक्ल्याएको हो र?’ उल्टै प्रतिप्रश्न गर्दै मानन्धरले भने, ‘प्रमुख प्रशासकीय अधिकृत कार्यालय आएको दिन पनि मेयर सा’ब काठमाडौँबाहिर कालिञ्चोकमा हुनुहुन्थ्यो। त्यो जानकारी कसलाई गराउनुभयो? काठमाडौँबाहिर जाँदाखेरी कार्यवाहक दिएर जानुपर्थ्यो होला? मेयर सा’ब हुनुहुन्न भन्ने थाहा हुन्थ्यो होला। थाहा भएको भए त्यो समस्या पनि आउँथेन होला। उहाँ आफ्नो व्यक्तिगत या धर्मको कारणले कालिञ्चोकमा हुनुहुन्थ्यो। त्यो कसैलाई जानकारी थिएन। हामीलाई कार्यालय आउनुहुन्छ भन्ने लागेको थियो। साँझ समाचार आएपछि त्यता पुग्नुभएको रहेछ भन्ने थाहा भयो।’
पटकपटक अनुरोध गर्दा पनि बालेनले ५ महिनायता नगर कार्यपालिका बैठक नबोलाएको प्रवक्ता मानन्धरले बताए।
‘त्यसोभए सबै वडाध्यक्ष मिलेर बालेन शाहलाई पेलेरै जाने तयारी हो त?’
‘स्वतन्त्रले सबै वडाध्यक्षलाई पेलेको कि, वडाध्यक्षले स्वतन्त्रलाई?’ मानन्धर भन्छन्, ‘त्यो त हेरेर थाहा भइहाल्छ नि। कार्यपालिका बैठक बोलाएको भए पो बहुमतले कार्यपालिका चल्न दिएन भन्न पनि मिल्थ्यो होला। अहिले त हामी वडाको वडामै थन्कियौँ नि।’
बालेन र प्रवक्ताबीच के कारण द्वन्द्व चर्कियो? जनप्रतिनिधि र अन्य कर्मचारीसँगको समस्या के हो? हेर्नुहोस् काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरसँग गरिएको नेपालखबर ‘तत्कालै’:

प्रतिक्रिया