समाज


संसद भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भन्ने दुर्गा प्रसाईं हुन्, मेरो कुनै भूमिका छैनः धवल शमशेर

संसद भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भन्ने दुर्गा प्रसाईं हुन्, मेरो कुनै भूमिका छैनः धवल शमशेर

नेपालखबर
जेठ ११, २०८२ आइतबार १९:१४, काठमाडौँ

प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले तीनकुने घटनामा आफ्नो कुनै भूमिका नरहेको दाबी गरेका छन्।

गएको चैत १५ गते राजावादी आन्दोलनका क्रममा दुईजना व्यक्तिको ज्यान गएको र आगजनी, तोडफोड तथा लुटपाट भएपछि सोही दिन पक्राउ परेका राणाले उक्त कार्यक्रमको योजना, व्यवस्थापन, सञ्चालन र खर्च व्यवस्थापन समेतमा आफ्नो कुनै भूमिका नरहेका बताएका हुन्।

राज्यविरुद्धको कसुर र आपराधिक उपद्रव गर्न नहुने कसूरमा मुद्दा चलाइएका राणाले सो कार्यक्रमको आयोजक दुर्गा प्रसाईं रहेको बताए। प्रसाईंले संसद भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भनेर अभिव्यक्ति दिएको उनले बताएका छन्।

प्रहरी र सरकारी वकिल कार्यालयमा गरेको बयानका क्रममा राणाले भनेका छन्, ‘तीनकुने वडा एरियामा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन कार्यक्रम दुर्गा प्रसाद प्रसाईंले नै आयोजना गरेका हुन्। कार्यक्रमको योजना, व्यवस्थापन, संचालन र खर्च व्यवस्थापन समेत सबै दुर्गा प्रसाद प्रसाईंले गरेका हुन्। उक्त कार्यक्रमको योजना, व्यवस्थापन, संचालन र खर्च व्यवस्थापन समेतमा मेरो कुनै भूमिका छैन।’

उनी उक्त कार्यक्रममा अतिथिको रुपमा मात्र सभामा सहभागी भएको बताएका छन्।

उनले बयानमा भनेका छन्, ‘मितिः २०८१।१२।१५ गते तिनकुनेमा भएको प्रदर्शनको मूल आयोजक दुर्गा प्रसाद प्रसाई भएको र निजले नवराज सुवेदीलाई उक्त प्रदर्शनमा सहभागिताको लागि अनुरोध गरेकोमा नवराज सुवेदी संयोजक भएको मूल समितिको सदस्य पनि भएको र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राजसंस्था र हिन्दू अधिराज्य पुनर्स्थापना गर्ने गराउनेहरूसँग सहकार्य गर्ने निर्णय गरेको आधारमा म अतिथी सहभागीको हैसियतमा तीनकुनेमा भएको प्रदर्शन सभामा मन्तव्य राख्ने उद्देश्यले सहभागी भएको हुँ। म व्यक्तिगत र मेरो पार्टी हिंसात्मक प्रदर्शनको पक्षमा छैन।’

उनले ‘हामी अगाडि बढ्ने हो, प्रहरी सित डराउने होईन, यो संघीयता र गणतन्त्र समाप्त पार्ने आजको दिन हो’ भनेर अभिव्यक्ति दिएको स्वीकार गरेका छन्। तर, सो अभिव्यक्ति उक्त दिनको प्रदर्शनमा मन्तव्य दिनको लागि बनाइएको मञ्चमै प्रहरीबाट अश्रुग्यास प्रहार भईसकेपछि असहज अवस्थामा आवेशमा बोलेको उनको दाबी छ।

राणाले हिंसात्मक गतिविधि सुरु हुनु अगावै आफू हिंसात्मक गतिविधिबाट बच्नका लागि सुरक्षित स्थानमा गई बसेकोले त्यस्तो गतिविधिमा संलग्नहरु को को हुन् र के केसरी हिंसात्मक गतिविधि भयो भन्ने कुरा थाहा नभएको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘तिनकुनेमा सुरक्षाका लागि खटिएका प्रहरी तर्फ बाप्र ०१–०२७ च ३६४७ नंबरको कार जबरजस्ती कुदाएको भिडियोमा देखिने मानिस दुर्गा प्रसाद प्रसाईं नै हुन्। आगजनी एवं तोडफोड गर्ने मानिसहरु म कोही कसैलाई चिन्दिनँ। उक्त समयमा म रोडको भित्री गल्लीमा सटर भित्र बसेको थिएँ। विभिन्न स्थानमा भएका तोडफोड र क्षति सम्बन्धमा सामाजिक सञ्जाल र समाचारहरुबाट थाहा पाएको हुँ। ती कुनै कार्यमा मेरो संलग्नता छैन।’

यस्तै, राणाले दुर्गा प्रसाईंले संसद भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भन्ने अभिव्यक्ति दिँदा आफूले रोकेको पनि बताएका छन्।

‘संसद भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भनी अभिव्यक्ति दिने व्यक्ति म होईन, प्रतिवादी दुर्गा प्रसाद प्रसाई हुन्, भिडियोमा नै देखिन्छ। संसद भवन लगायतका संवेदनशील संरचनाहरु कब्जा गर्न भनी मैले कोही कसैलाई खटाएको छैन। अन्यले खटायो वा खटाएन सो सम्बन्धमा मलाई थाहा छैन।’

यस्तो छ बयान :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad