पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादी समूहका चार शीर्ष नेतालाई मिलेर अघि बढ्न सुझाव दिएका छन्। बिहीबार सोल्टी होटलमा मध्यान्ह १२ बजेदेखि साढे २ बजेसम्म संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टसँग ‘लन्च मिटिङ’ गरेका उनले एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका हुन्।
ती समूहले राजसंस्था पुनर्स्थापनाको माग लिएर यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन्। सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत विषय उठाएर आन्दोलन गर्न लागेको हो।
निर्णायक भनिएको सो आन्दोलनमा बलियो उपस्थिति देखाउन राजावादी चारै समूहलाई एकैठाउँमा उभ्याएर एकीकृत शक्ति बनाउन ज्ञानेन्द्र आफैँ सक्रिय भएका छन्।
सोल्टीमा पुगेका नेतासँग सामान्य शिष्टाचार गरेपछि ज्ञानेन्द्रले कुराको सुरुवात देशको समग्र परिस्थितिबाट थाले।
मुलुकको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको, दलहरू विभाजित हुँदै गएको भन्दै उनले अब मिलेर जानुपर्ने भनाइ राखे।
‘देशको अवस्था ठीक छैन, यसमा उहाँको चिन्ता देखियो, यो समस्या समाधान गर्न बलियो बनेर जानुपर्छ,’ सहभागी एक नेताले नेपालखबरसँग भने।
अर्का नेताका अनुसार यसपटक ज्ञानेन्द्र शाहले एकीकृत शक्तिमा जोड दिएका छन्। त्यसकै लागि उनले पछिल्ला दिन राजावादी दलका शीर्ष नेता भेटिरहेको ती नेताले दाबी गरे।
सोल्टी ज्ञानेन्द्रकै सेयर स्वामित्व भएको होटल हो।
‘जनता निराश छन्, देशको आर्थिक अवस्था बिग्रेको छ। युवाहरू देश छोडेर पलायन भए, देशमा देखिएका सबै समस्या समाधान गर्न लाग्नुपर्ने बेला आयो,’ ज्ञानेन्द्रको थप भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तिमीहरू एकठाउँमा बसेर काम गर। नयाँ शक्ति निर्माण हुन्छ। शक्ति निर्माण गर्नेतिर ध्यान देऊ। राष्ट्रवादी–प्रजातन्त्रवादी शक्ति निर्माणमा ध्यान देऊ। जसले जनतामा आशा जगाउँछ।’
भेटमा सहभागी संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूहरू आन्दोलन सफल पार्ने प्रयासमा रहेको बताए। पूर्वराजा शाहले मिल्न सुझाव दिएको उनको भनाइ छ।
‘हिजो ज्ञानेन्द्र शाहसँग भेटेका थियौँ, राम्रै छ। उहाँ पनि कार्यक्रम सफल होस् भन्नेमा हुनुहुन्छ,’ सुवेदीले भने, ‘मिलेर जानु त सबैले भन्छन्, राजाले भन्ने नै भए।’
‘उहाँले हामीलाई खुवाउन बोलाउनुभएको हो, तिमीहरूले धेरै परिश्रम गर्यौ भनेर,’ सुवेदीले ठट्टा गरे।
आन्दोलन कस्तो हुन्छ, १५ गते थाहा हुने उनले बताए।
राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले राजासँगको भेटबारे खुलाउन चाहेनन्।
‘राजासँग भएको कुरा त मैले बाहिर भन्ने गरेको छैन,’ उनले भने, ‘म त राजा भयो भने, धर्म भयो भने, संस्कार भयो भने देशलाई राम्रो हुन्छ भन्ने मान्छे हुँ, त्यो काममा म निरन्तर लागिरहेको हुन्छु।’
वैशाख ५ गते राप्रपाका सात नेतालाई निर्मल निवासमा बोलाएर लन्च मिटिङ गरेका ज्ञानेन्द्रले त्यसयता विभिन्न राजावादी दलका नेतासँग छुट्टाछुट्टै भेट गरेका थिए।
वैशाख १५ गतेदेखि नगरकोटको सोल्टी वेस्टएन्ड रिसोर्टमा १२ दिन बस्दा पनि ज्ञानेन्द्रले राजावादी दलका शीर्ष नेतासहित दोस्रो र तेस्रो तहका नेता भेटेका थिए।
ज्ञानेन्द्रसँग पटकपटक भएको भेटवार्तापछि सुवेदीको नेतृत्व मानेर आन्दोलनमा जान राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट तयार भएका थिए।
जबकि, चैत ४ गते ‘संयुक्त जनआन्दोलन समिति’ गठन गर्दा लिङ्देन, थापा र विष्टलाई सदस्य राखिएको थियो। आफूहरूलाई सोध्दै नसोधी समितिमा सदस्य बनाएको भन्दै उनीहरूले असन्तुष्टि जनाउँदै कार्यक्रममा सहभागी भएका थिएनन्। लिङदेनले त छुट्टै आन्दोलन पनि गरे।
तर, छुट्टाछुटटै आन्दोलन गर्दा शक्ति नपुग्ने मात्रै होइन, उल्टै आन्दोलन नै बदनाम हुन पुगेको थियो।
फागुन १५ गते तीनकुनेमा भएको हिंसाका कारण दुईजना नागरिकले अकालमा ज्यान गुमाए। पचासौँ करोडको धनमाल नष्ट भयो। आन्दोलन उग्र बनेपछि ज्ञानेन्द्र शाहलाई सरकारले समेत निगरानी बढाउने खतरा बढ्यो।
पोखराबाट फागुन २५ गते काठमाडौँ फर्कदा उनको स्वागतमा थुप्रै मानिस सहभागी भएपछि ज्ञानेन्द्र हौसिएका थिए।
राजावादी शक्तिहरूलाई एकै ठाउँमा उभ्याएर आन्दोलन चर्काउने उनको दाउ देखिन्छ।
Shares

प्रतिक्रिया