उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनलाई समयमै सम्पन्न गर्ने विषयमा ठेकेदारले हल्का रूपले लिएको बताएका छन्।
निर्माणाधीन संघीय संसद् भवनको हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्न बिहीवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताए।
समयमा नसकिने म्याद थप भइहाल्छ नि भन्दै ठेकेदारले हल्का रूपमा लिएको उनले बताए। ‘सुरु भयो, ठेक्कामा गयो। पटक–पटक म्याद थप गरियो,’ सिंहले भने, ‘८६ प्रतिशत फिजिकल प्रगति भयो भनेर आएको छ। ८६ लाई १०० मा पुर्याउन हामीले अहिले कानुनले दिएका प्रावधानहरू के के छन्? कामलाई तिब्रता दिन के के टुल्सहरु प्रयोग गर्न सकिन्छ।’
उनले थपे, ‘जरिवाना नै तिराउने हो कि, कन्ट्रयाक्टरले हल्का रूपमा लिइरहेका छन्। म्याद थप भई हाल्छ नि के गर्छन् र यिनीहरूले भन्ने खालको। कन्ट्रयाक्टरलाई अलि जिम्मेवार बनाउन गर्नुपर्ने कामहरूमा के गर्दा खेरी हुन्छ भन्ने कुरामा समितिबाट सुझाव लिन्छौँ। यसलाई पूरा गर्नको लागि अब अन्तिम म्याद जस्तो गरेर जान हामी सहमति छौँ।’
उनले ठेकेदार जिम्मेवारी नभए कानुनी प्रावधानअनुसार अगाडि बढ्ने कुरामा हिचकिचाहट नगर्ने चेतावनी दिए।
Shares

प्रतिक्रिया