राजनीति


खरिद अनियमिततामा संलग्नलाई पदमुक्त गरी छानविन र कारवाही गर्न देउवाको माग

खरिद अनियमिततामा संलग्नलाई पदमुक्त गरी छानविन र कारवाही गर्न देउवाको माग

नेपालखबर
चैत २१, २०७६ शुक्रबार ८:४२,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमिततामा संलग्नलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाही गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

देउवाले मेडिकल सामग्री खरिद प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेकोे आरोप लगाएका छन्।

कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन नेपाली कांग्रेस सरकारको साथमा रहेको बताउँदै देउवाले सरकारलाई युद्धस्तरमा काम गर्न सुझाएका छन्।

‘उत्तिकै धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालना गर्न सचेत गराएका छौं। तर अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याउने कार्य गरेको छ,’ पूर्वप्रधानमन्त्री देउवाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

उनले अत्यावश्यक सामग्री खरिदमा ढिलाइ गरेको, टेन्डर प्रक्रिया अपारदर्शी गरेको र बढी मूल्य निकासा गराएर राज्य कोषमा भ्रष्टाचार गर्नुका साथै विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद गरेको आरोप लगाएका छन्।

सरकारको सो कार्य अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना बताउँदै देउवाले कुनैपनि दृष्टिले माफी योग्य नभएको बताएका छन्।

‘यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु,’ देउवाले भनेका छन्।

उनले लक डाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने बताउँदै अख्तियार दुरुपयोग आयोगलाई बिशेष चनाखो भइ काम गर्न सुझाएका छन्।

‘अपारदर्शी ढंगले कार्य भएको व्यापक समाचार दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कारवाहीको प्रक्रिया अघि बढाउन जरुरी छ,’ उनले भनेका छन्।

लक डाउनको प्रतिकूल अवस्थाका बावजुद क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गर्दै आएका संचार माध्यमहरुलाई विशेष रुपले कदर र प्रोत्साहित गर्नुपर्नेमा हतोत्साहित गर्न खोजेको उनले बताएका छन्।

‘काठमाडौं प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक छ,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘यसमा जो दोषी छन तिनलाई कारवाहीको दायरामा ल्याउन म सम्बन्धित निकायलाई आग्रह गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad