समाज


स्वास्थ्य सामग्री अभाव, बिरामीको नजिक पर्न डराउँछन् स्वास्थ्यकर्मी

स्वास्थ्य सामग्री अभाव, बिरामीको नजिक पर्न डराउँछन् स्वास्थ्यकर्मी

कृष्ण दवाडी
चैत २१, २०७६ शुक्रबार ८:४६,

कोरोना भाइरस (कोभिड-१९) को सम्भावित बिरामीका उपचारमा सम्लग्न स्वास्थ्यकर्मीका लागि अत्यावश्यक मेडिकल मास्क, पञ्जा र तापक्रम मापन गर्ने इन्फ्रारेड थर्मोमिटर (फायर गन) अझै यहाँ अपुग रहेको छ।

कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन गाउँगाउँमा क्वारेन्टाइन निर्माण गरी शंकास्पद बिरामीलाई क्वारेन्टिन तथा होम क्वारेन्टिनमा राखिएको छ। तर अत्यावश्यकीय स्वास्थ्य सामग्री अभावमा स्वास्थ्यकर्मी बिरामी नजिक जान डराउने अवस्था रहेको जनाइएको छ।

मौसमी रुघाखोकी तथा ज्वरोको समय भएकाले अहिले स्वास्थ्य संस्थामा त्यस्ता समस्याका बिरामी धेरै पुग्ने गरेका छन्। रुघाखोकी र ज्वरो सो भाइरसको लक्षणसँग मिल्दोजुल्दो रहेकाले स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री अभाव हुँदा बिरामीसँग नजिक पर्न त्रसित हुने अवस्था आएको बताइएको छ।

सो भाइरसको लक्षण मिल्दोजुल्दो रहेकाले सामान्य रुघाखोकीका बिरामीसँग आफूहरु सजग रहनुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीको भनाइ छ। माछापुच्छ्रे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद आचार्यले मौसमी ज्वरो र रुघा खोकीको समय भएकाले धेरै यस्ता बिरामी स्वास्थ्य संस्थामा आउँदा आफूहरुले प्रयोग गरिरहेको डिजिटल थर्मोमिटर प्रयोग गर्ने अवस्था नरहेको बताउँछन्।

सो भाइरसको जोखिम हुन नदिन केही दूरीमा रहेर एकैपटक धेरैको परीक्षणका लागि इन्फ्रारेड थर्मोमिटर अत्यावश्यक रहेपनि थेरै ठाउँमा पहल गरेपनि हालसम्म प्राप्त नभएको उनको भनाइ छ। सामान्य मास्क स्वास्थ्य संस्थामा पु-याइए पनि मेडिकल मास्क अभाव रहेको बताइन्छ।

‘सामान्य रुघाखोकीको बिरामीसँग अहिले सजग हुनुपर्ने भएको छ, गन थर्मोमिटरको अभावमा ज्वरो कति आएको छ भनेर हेर्न पनि असमर्थ भइयो। एउटै डिजिटल थर्मोमिटर धेरैलाई प्रयोग गर्दा संक्रमण सर्ने सम्भावना बढी हुन्छ’ उनले भने।

ल्वाङघलेल स्वास्थ्य चौकीका प्रमुख आनन्द बरालले सङ्क्रमित बिरामीको उपचार गर्नुपरेको खण्डमा स्वास्थ्यकर्मी सुरक्षित हुने अवस्था नरहेको बताउँदै प्राप्त दुई थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) रेनकोट जस्तो रहेको र पीपीईको मापदण्डअनुसार नभएको बताए।

सामान्य कपडाको मास्कले काम चलाउनुपरेको बताउँदै उनले मेडिकल मास्क अहिलेसम्म प्राप्त नभएको उल्लेख गरे। अत्यावश्यकीय स्वास्थ्य सामग्रीको अभावमा कोरोना शंकास्पद बिरामी आएको खण्डमा पोखरा रेफर गर्नुको विकल्प नभएको बताइन्छ।

शहरी स्वास्थ्य केन्द्र १८, स्वास्थ्य चौकी १९, दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र तथा शिसुवा अस्पताल र दुई वटा आयुर्वेद औषधालय गरी पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाअन्तर्गत ४३ स्वास्थ्य संस्था छन्। तर अधिकांश स्वास्थ्य संस्थामा एन ९५ मास्क, इन्फ्रारेड थर्मोमिटर तथा पीपीई अभाव रहेको स्वास्थ्य महाशाखाले जनाएको छ।

अत्यावश्यकीय स्वास्थ्य सामग्रीका लागि संघ र प्रदेश सरकारसँग माग गरेपनि हालसम्म प्राप्त नभएको महाशाखाका सिनियर हेल्थ असिष्टेन्ट हरिलाल आचार्यले बताए। उनले भने, ‘स्तरीय मास्क, इन्फ्रारेड थर्मोमिटरलगायत सामग्रीको बजारमा खोजी गरेका छौँ तर पाउने अवस्था छैन। संघ र प्रदेश सरकारलाई समेत भनेका छौँ। हालसम्म प्राप्त भएको छैन।’

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले प्रदेश सरकारबाट प्राप्त सीमित मास्क र सेनिटाइजर स्वास्थ्य संस्थालाई वितरण गरेपनि अन्य सामग्री दिन नसकिएको बताए। कार्यालयबाट तत्कालै स्वास्थ्य सामग्री खरिद गर्ने अवस्था नरहेको तथा प्रदेश सरकारबाट प्राप्त भएको खण्डमा मात्र स्थानीय तहमा वितरण गर्न सकिने उनको भनाइ छ।

केही दिन पहिला चीनबाट ल्याइएको पीपीईलगायत स्वास्थ्य सामग्री पोखरा आएपनि सामग्री पूर्ण नभएको भन्दै वितरण गरिएको छैन। जिल्लाका अन्य स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थामा अत्यावश्यकीय स्वास्थ्य सामग्री प्राप्त नभएको बताइन्छ। मादी गाउँपालिकामा हालसम्म स्वास्थ्यकर्मीलाई अत्यावश्यक पिपीइ नभएकाले ३२ थान पिपीइ खरिद गर्ने निर्णय गरेको छ। गाउँकार्यपालिका बैठकले तत्कालै खरिद गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad