राजनीति


प्रचण्डले संसद्‍मा पटकपटक सरकार बिचौलियाले बनाइदिएको भनेकोमा एमालेको आपत्ति

प्रचण्डले संसद्‍मा पटकपटक सरकार बिचौलियाले बनाइदिएको भनेकोमा एमालेको आपत्ति

एमाले मुख्य सचेतक महेश बर्तौला। तस्बिरः सरोज नेपाल/नेपालखबर डटकम


नेपालखबर
बैशाख २८, २०८२ आइतबार १२:२१, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‍मा पटकपटक यो सरकार बिचौलियाले बनाएको भनेर अभिव्यक्त दिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘विशेषगरी प्रमुख प्रतिपक्षी दलको तर्फबाट र दलको नेताबाट यो संसद्‍मा उहाँले गर्नुभएको सम्बोधन हामीले सुन्यौँ। असाध्यै पूर्वाग्रहप्रेरित ढंगबाट राजनीतिक प्रवचनको हिसाबले, नीति तथा कार्यक्रममाथि रनात्मक ढंगले भन्दा पनि सरकारको आलोनाको हिसाबले मात्रै विषय राख्नुभयो।’

यो सरकार बिचौलियाले नभइ संसद्ले संविधान अनुसार बनाएको बर्तौलाको भनाइ छ। ‘यो संसद्‍मा उहाँले फेरि पनि दोहोर्‍याउनु भयो, यो सरकार बनेको पहिलो दिनदेखि उहाँले भन्दै आउनुभयो–यो सरकार दलालले बनाएको हो, बिचौलियाहरुले बनाएको हो। लगायत लगायत,’ उनले भने, ‘उहाँले फेरि पनि नीति तथा कार्यक्रमको छलफलको क्रममा उहाँले यो दोहोर्‍याउनुभयो। म आग्रह गर्न चाहान्छु–यो सरकार यो संसद्ले बनाएको हो। संविधान बमोजिम यो संसद्ले बनाएको हो।’

बर्तौलाले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिबाट सरकार बिचौलियाले बनाएको भनेर पटक–पटक सुन्न परेको भन्दै त्यसप्रति विरोध समेत जनाए। ‘तर, संसद्ले बनाएको सरकारलाई उहाँले हरेकपटक बिचौलीया, दलाल, माफिया। यस्तो खालको असाध्यै अराजनीतिक, असंसदीय शैलीको हामीले पटक–पटक सुनिरहेका छौँ,’ उनले भने, ‘सुन्न परिरहेको छ। म यसमा दुःख व्यक्त गर्न चाहान्छु।’

 
बर्तौलाले थपे, ‘सम्मानीय पूर्वप्रधानमन्त्रीज्यू, विपक्षी दलको नेता हुनुहुन्छ। त्यो तहबाट पटक–पटक यसप्रकारको पूर्वाग्रहप्रेरित, कुण्ठाग्रस्त यस्ता अभिव्यक्तिको निरन्तरताले संसदीय मर्यादाको अपमान भएको छ। मर्यादाको च्युत भएको छ। यस कुरामा म उहाँको ध्यानाकर्षण गराउन चाहान्छु। यसको म विरोध पनि गर्न चाहान्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad