राजनीति


साइकोलोजी पढेका हाम्रा परराष्ट्रमन्त्रीलाई ‘डिप्लोमेसी’ भनेको थाहा छैन : सांसद सिंह

साइकोलोजी पढेका हाम्रा परराष्ट्रमन्त्रीलाई ‘डिप्लोमेसी’ भनेको थाहा छैन : सांसद सिंह

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १४:४७, काठमाडौँ

स्वतन्त्र सांसद अमरेश सिंहले भारत पाकिस्तान तनावको विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार संसदको विशेष समयमा बोल्दै सिंहले उक्त तनावसँगै नेपाल–भारत सीमानामा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न नेपालले नजिकबाट नियाल्नु पर्ने बताए।

‘नेपाल भारत सीमाना खुला छ। कुनै अवाञ्छित गतिविधि नहोस् म नेपाल सरकारसँग माग गर्न चाहन्छु। खुला सीमाना भएकाले नेपालले त्यसलाई नजिकबाट नियाल्नुपर्छ,’ सिंहले भने, ‘सरकारलाई अलिकति पनि अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन, किनकी साइकोलोजी पढेको मान्छे परराष्ट्र मन्त्री हो, त्यसकारण परराष्ट्र मन्त्रीलाई थाहा छैन कि डिप्लोमेसी भनेको के हो। परराष्ट नीति भनेको के हो।’

कुन दिन इन्जिनियरलाई राखेर उपचार गराउन सुरु हुन्छ भन्दै उनले सरकाको व्यंग्य गरे।

यस्तै केहीदिन पहिले पाकिस्तानी सेना नेपाल आएको विषय पनि उनले संसदमा उठाएका छन्।

‘कतार ऐयरवेजबाट तीनवटै सेना जल सेना, थल सेना र वायु सेनाका ११ जनालाई नेपाल बोलाएको छ। के यो उपयुक्त बेला हो? हामी पाकिस्तानको लाइक बन्न खोजेको हो। यसले हाम्रो छिमेकी सँगको सम्बन्धमा के असर पर्छ? सरकारले यसको गम्भीरता कहिले पनि मापन गरेन। सरकार ठूला देशहरूलाई जिस्क्याउने काम गर्छ। आफ्ना नागरिकलाई दुखी बनाउने काम गर्छ, गरिब बनाउने काम गर्छ,’ उनले भने।

नेपाल आउन कसैलाई रोक्ने भनेको नभई अहिले पाकिस्तानी सेना आउने उपयुक्त समय नभएको उनले बताए।

‘हामी कुन समयमा के काम गर्दैछौँ। एकातिर हाम्रो छिमेकीसँग सरकार बनेदेखि सम्बन्ध राम्रो हुन सकेको छैन। त्यसकारण प्रधानमन्त्रीको भ्रमण हुन सकेको छैन। हामी दोस्रो कुरा भारतलाई जिस्क्याउन पाकिस्तानी आर्मीलाई बोलाइरहेका छौँ। एउटा युनिटलाई होइन तीन तीन वटा युनिटलाई एकसाथ,’ सांसद सिंहले भने।

कास्मिर नजिकै पहलगाममा बुटवलका सुदीप न्यौपानेको हत्या भएको विषयमा पनि उनले गम्भीर ध्यानाकर्षण गराएका छन्।

‘घटनाको भिडिओ सार्वजनिक भएको छ। त्यो भिडिओ हेरेपछि जसको आँखामा आँसु आउँदैन, त्यो नेपाली हुनै सक्दैन। त्यस्तो हृदयविदारक घटना थियो। तर सरकार आफ्ना नागरिकको जिउ धनको सुरक्षा गर्न पनि चुकिरहेको हुन्छ। यदि कसैको हत्या भयो भने त्यसलाई राहत दिन पनि चुाकिरहेको छ। सरकारलाई आफ्नै सुविधाबाट फुर्सद छैन,’ उनले भने।

सांसद सिंहले थपे, ‘सुदीपकी आमा एकल महिला हुन्। सुदीप परिवारको एउटै छोरा थिए। नाम सोधि सोधि उसको हत्या भएको छ। त्यो घटनाको जति भर्त्सना गरे पनि कम हुन्छ। पीडित परिवारलाई आजसम्म एक रुपैयाँ पनि दिएको छैन। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। सञ्चारकर्मी पुगिरहेका छन् तर सरकार त्यहाँ पुग्न सकिरहेको छैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad