नेकपा एमालेबाट निलम्बनमा परेका स्थायी कमिटी सदस्य डा विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको कारबाही फुकुवा हुने भएको छ।
आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकको अन्तिमतिर कारबाही फुकुवाको प्रसंग उठेको थियो। महासचिव शंकर पोखरेलले यो एजेन्डा प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अब बस्ने बैठकबाट निर्णय गर्ने जवाफ दिएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।
‘हिजै कारबाही फुकुवा गर्ने भनेको, भ्याइएन,’ ज्ञवालीले भने, ‘नगर्ने भनेको होइन, अन्तिममा कुरा उठेको थियो। तर, उहाँ (ओली) लाई हतार भयो भनेर निस्कनुभयो।’
हिजो सचिवालय बैठकबाट ओली माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटघाटका लागि ‘हतार छ’ भन्दै निस्केका थिए।
सरकारबारे ‘कन्फिडेन्ट’ ओलीले बैठकमा भने : विरोध गर्नु कांग्रेसको एक तप्काका नेताहरूको चरित्रै रहेछ
कारबाही फुकुवाबारे अर्को बैठकबाट निर्णय गरिने ज्ञवालीले नेपालखबरसँग बताए।
‘उहाँहरू अर्काे बैठकबाट कारवाही फुकुवा गर्ने भन्ने छ। छिट्टै बैठक बसेर गर्ने कुरा छ,’ उनले थपे।
उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आगामी बैठक २४ गते बिहान बस्ने तय भएको छ।
सम्भवतः सोही बैठकले दुवै नेताको कारबाही फुकुवाको निर्णय लिन सक्छ।
गत वर्ष पुस १० गते बसेको सचिवालय बैठकले पाण्डे र तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो।
गत असोज २५ गते प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान प्राप्त भएको भन्दै एमाले केन्द्रीय कार्यालयको भवन शिल्यानास गरेका थिए। गुरुङले त्यहाँ भवन पनि बनाइदिने र अर्को वर्षको दसैँमा उद्घाटन हुने गरी तयार गरिदिने घोषणा गरेका थिए।
व्यापारी गुरुङबाट जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने पार्टीको निर्णयप्रति असहमति जनाउँदै पाण्डे र तिम्सेनाले सामाजिक सञ्जाल फेसबुक र एक्समा सच्याउन माग गरेका थिए।
एमालेले पार्टी नीतिविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै कात्तिक ४ गते स्पष्टीकरण सोधेको थियो। कात्तिक १२ गते स्पष्टीकरणपत्र बुझाएका थिए। दुवै नेताको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सचिवालय बैठकले निलम्बन गरेको थियो। त्यही बैठकबाट एमालेका पूर्वउपाध्यक्ष भीम रावल पार्टीबाटै निकालामा परेका थिए।
गत वैशाख ३ गते नेतृ पाण्डेले बालुवाटारमै पुगे ओलीसँग भेट गरेकी थिइन्।
Shares

प्रतिक्रिया