राजनीति


रास्वपाको महाधिवेशन तयारी: ७ हजार कुर्सी र २० वटा कुलर राखिने

रास्वपाको महाधिवेशन तयारी: ७ हजार कुर्सी र २० वटा कुलर राखिने

नेपालखबर
असार १, २०८३ सोमबार १८:४७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि सात हजार बढी कुर्सी राख्ने गरी तयारी थालिएको छन्।  असार ७ देखि ९ गतेसम्म पूर्वी–चितवनको रत्ननगरमा हुने पार्टीको ३ दिने महाधिवेशनका लागि टाँडीस्थित होटल स्टारको सभाकक्षसँगै रहेको खाली जमिनमा बाँसको अस्थायी सभाहल बनाउने काम भइरहेको छ।

रत्ननगर नगरपालिका–१ स्थित सो होटलको सभाकक्षसँगै रहेको टिनको टहरालाई जोडेर ३२ हजार ४८० स्क्वायर फिटको जमिनमा महाधिवेशनस्थल बनाउने काम सुरु भएको हो। रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार सातदेखि आठ हजार कुर्सी अट्ने गरी महाधिवेशनस्थल बनाउने काम भइरहेको छ। डोमको  बीचमा २९ फिट र छेउमा १६ फिट अग्लो हुने गरी संरचना बन्ने छ। माथि त्रिपाल लगाउने र १६ फिट सिदा हुने गरी पानी नचुहिने उच्चस्तरको टेण्ट डोममा राखिने छ।

'महाधिवेशनका लागि आवश्यक अस्थायी प्रकृतिको सभाहल ‘डोम’ बनाउने क्रममा बाँस प्रयोग गरिनेछ। डोमभित्र ७० वटा ठूला पङ्खा र २० वटा कुलरको व्यवस्था गरिने छ। बाहिरपट्टी टेण्ट राखेर बस्ने ठाउँ बनाउने तयारी छ। सँगै रहेको होटल स्टारको ठूलो सभाहललाई आवश्यकताअनुसार प्रयोग गनेगरी निर्माणसम्बन्धी काम धमाधम अघि बढिरहेको छ', नेता गौतमले भने।

महाधिवेशनमा आउने सहभागीका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलमा अवासको प्रबन्ध हुनेछ। सहुलियत दरमा कोठाको व्यवस्थाका लागि होटल व्यवसायीसँग अनुरोध गरिएको छ। सहभागी स्वयंले खर्च बेहोर्नु पर्नेछ।

उद्घाटनको दिन नजिक पर्ने टिकौलीचौरमा सवारीसाधन पार्किङ गरी त्यहाँबाट अर्को गाडीले कार्यक्रमस्थलसम्म लाने–ल्याउने व्यवस्था मिलाइँदैछ।

पार्टीका प्रवक्ता मनिष झाले स्थानीय जिल्ला कमिटीका तर्फबाट तयारीका काम भइरहेको बताउँदै असार २ गते मङ्गलबारदेखि राष्ट्रिय महाधिवेशनको सचिवालय सञ्चालनमा आउने र असार ४ गतेदेखि पार्टीका पदाधिकारी एवं नेताहरु महाधिवेशनस्थलमै रहने जानकारी दिए। पार्टीको उद्घाटन समारोहमा राष्ट्रियस्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरेको जानकारी दिँदै प्रवक्ता झाले करिब तीन हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad