राजनीति


सरकारबारे ‘कन्फिडेन्ट’ ओलीले बैठकमा भने : विरोध गर्नु कांग्रेसको एक तप्काका नेताहरूको चरित्रै रहेछ

सरकारबारे ‘कन्फिडेन्ट’ ओलीले बैठकमा भने : विरोध गर्नु कांग्रेसको एक तप्काका नेताहरूको चरित्रै रहेछ

सागर न्यौपाने
बैशाख २१, २०८२ आइतबार २२:२९, काठमाडौँ

सत्तारूढ दल नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकका मुख्य दुईवटा एजेन्डा थिए– सरकारले यही १९ गते संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको समीक्षा र आगामी बजेटमा दिने सुझावबारे छलफल।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका कार्यक्रम राम्रा भए पनि नीति तथा कार्यक्रममा कांग्रेसकै नेताले विरोध गरेको ब्रिफिङ गरे। यद्यपि, उनले सरकार ढलिहाल्ने खतरा नरहेको दाबी गरेको बैठकमा सहभागी नेताहरू बताउँछन्।

‘नीति तथा कार्यक्रम आएको छ, राम्रो छ, कांग्रेसका नेताहरू कसैले विरोध पनि गरेका छन्,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले नेपालखबरसँग भने।

सरकारले गति लिन नसकेको, आम जनताको आशा जगाउन नसकेको लगायत कुरा उठाउँदै महामन्त्री गगन थापा, विश्वप्रकाश शर्माले असन्तुष्टि जनाइरहेका छन्। गभर्नर नियुक्ति प्रक्रियामा गरिएको ढिलाइ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई गरिएको बर्खास्ती लगायतका कारण थापा कांग्रेस–एमालेले सरकारलाई सफल पार्न गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जान छोडेका छन्। 

पार्टीको सचिवालय बैठकमा ओलीले कांग्रेसका एकथरी नेताहरू सरकार बनेदेखि विरोधमा उत्रिएको सुनाए। 

‘कांग्रेसभित्र विभिन्न मान्छेको विरोध छ, शेरबहादुर देउवाजीको बलियो साथ छ,’ ओलीले थपे, ‘शेरबहादुरजीले चाहेसम्म सरकार तलमाथि हुँदैन। अहिले उहाँले त्यो सोच्नुभएको पनि छैन, ठीकै छ।’

अर्का पदाधिकारीले प्रधानमन्त्रीमा पछिल्लो दिन आत्मविश्वास बढ्दै गएको बताए। एक साता उपचार गरेर बैंककबाट फर्किएपछि देउवाले सरकारबारे नसोचेको बताएका थिए। त्यसपछि ओलीको आत्मविश्वास बढेको उनको भनाइ छ।

जबकि, त्यसअघिसम्म हरेक दिनजसो प्रधानमन्त्री ओली सरकार ढल्दैन भन्दै हिँडिरहेका थिए।

‘सरकारलाई केही पनि थ्रेट छैन। सरकार सहज गइरहेको छ,’ बैठकमा ओलीले भने, ‘कांग्रेससँगको सत्ता सहकार्य यो मितिसम्म ठीकै छ, चलिराखेको छ, उनीहरूको एउटा तहका नेताहरू सरकारको विरोध गर्छन्, बोलिरहन्छन्, त्यो उनीहरूको चरित्रै रहेछ।’ 

देशमा अस्थिरता मच्चाउन खोज्ने प्रवृत्ति कमजोर बन्दै गएको पनि उनले दाबी गरे। 

‘नेपालमा अस्थिरता फैलाउने शक्तिहरू संक्रमणकाललाई बढी लम्ब्याउन चाहन्थे तर, त्यो शक्ति विस्तारै पराजित हुँदै गएको छ,’ ओलीले भने। 

सरकार फेरबदलको प्रयास भइरहे पनि कुनै तत्वले नसकेको ओलीले बताएको नेताहरू बताउँछन्।

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपालमा सत्तारुढ, प्रमुख प्रतिपक्षी दलका शीर्षसहित २० जनाभन्दा बढी नेतालाई भेटे। भारतको कास्मिरमा एक नेपालीसहित २६ जना मारिएको आतङ्कवादी हमलामा भारतलाई नेपालले गरेको सहयोगका लागि धन्यवाद दिन र नेपालमा पछिल्लो दिन राजावादीले राजतन्त्रको पक्षमा चर्काउन खोजेको आन्दोलनमा भारतले साथ नदिने सन्देश बोकेर चौथाइवाले नेपाल आएका थिए।

हुन नसकिरहेको प्रधानमन्त्री ओलीको भारत भ्रमणको बारेमा चौथाइवालेले केही सन्देश ल्याएको हुनसक्ने कतिपयको अड्कल थियो। तर, प्रधानमन्त्री ओलीले यसबारे केही भनेनन्।

‘प्रधानमन्त्रीजीले चौथाइवालेसँग भेट गरेको, भारतीय जनता पार्टी र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीजीले पठाएको कुनै सन्देश बारे बैठकलाई जानकारी गराउनुभएन,’ अर्का पदाधिकारीले भने, ‘चौथाइवालेको नाम नै उच्चारण गर्नुभएन।’

बजेटबारे सुझाव दिन निर्देशन 
कांग्रेसले नीति तथा कार्यक्रमको पक्षमा उभिन आफ्ना सांसदलाई निर्देशन दिइसकेको छ। यसले ओलीलाई बढी आशावादी बनाएको छ। उनले आफू निकटका केही नेतालाई भनिसकेका छन्– ‘अहिलेको संसद्को अंकगणितका कारण पनि देउवाले धोका दिँदैनन्।’

त्यही भएर सरकार निर्धारित समयसम्म चल्नेमा ढुक्क देखिएका ओलीले जनतालाई आकर्षित गर्ने उत्कृष्ट बजेटका लागि आवश्यक छलफल गर्न निर्देशन समेत दिए। 

सबै नेता बोलेर नसकिने भएपछि लिखित सुझाव दिन भनिएको छ। 

दिउँसो तीन बजेको लागि बोलाइएको बैठकमा प्रधानमन्त्री ओली एक घण्टा ढिला पुगेका थिए। पाँच बजे उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको वार्ताका लागि भन्दै उठेर हिँडे। 

‘अब बजेटमा कसरी गर्ने? के गर्ने सुझाव चाहियो भन्नुभयो। दुईजना साथी बोल्दै थिए, प्रचण्ड सिंहदरबारमा आइपुगेको र कुरिरहेको भनेर चिट ल्याएर दिए, ल आज यति गरौँ भनेर प्रधानमन्त्री उठेर हिँड्नुभयो,’ उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने। 

उनका अनुसार बजेटमा छलफल सुरु भएको छ। अब फेरि २४ गते बस्ने सचिवालय बैठकमा बजेटमाथि अरू नेताहरूले सुझाव दिनेछन्। सरकारले आर्थिक वर्ष ०८२/०८३ को बजेट यही जेठ १५ गते संसद्मा पेस गर्नुपर्ने छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad