सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलबीच सहमति जुट्न नसकेपछि सरकारलाई बजेट ल्याउन सकस परेको छ।
सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा (एमाले) बीच बजेटका विषयलाई लिएर विवाद उत्पन्न भएको हो। बजेटमा समझदारी नजुटेपछि सोमबार बेलुकी ५ बजे बजेट भाषणको कार्यसूचिसहित बोलाइएको प्रदेश सभा बैठक बस्न सकेन।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार प्रदेश सभा बैठक आजै राति ९ बजे बस्ने गरी सारिएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार एमालेबीच बजेट निर्माणमा विवाद देखिएको हो।
एमालेका मन्त्रीले मागअनुसार, बजेटको सिलिङ नपाएको भन्दै आन्तरिक रूपमा असन्तुष्टि जनाएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले बजेटमा आफूले एकलौटी गरेको उनीहरूको आरोप छ।
सिलिङ अनुसार बजेट नपाएपछि एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले तीव्र असन्तुष्टि प्रकट गरेका छन्। त्यसलाई मिलाउने गृहकार्य भइरहेको छ।
सत्ता साझेदार एमालेको असन्तुष्टिकै बीच बजेट पेश भए प्रदेश सरकार संकटमा पर्ने जोखिम भएकाले कांग्रेस एमालेलाई मिलाएर लैजान गृहकार्यमा छ।
संवैधानिक व्यवस्थाअनुसार, असार १ मा बजेट ल्याउनुपर्छ। अन्य प्रदेशले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान प्रस्तुत गरिरहेका छन्।
Shares

प्रतिक्रिया