राजनीति


विन्दा पाण्डेलाई पार्टी जिम्मेवारीमा फर्काउन ओली तयार, राखे यस्ता सर्त

विन्दा पाण्डेलाई पार्टी जिम्मेवारीमा फर्काउन ओली तयार, राखे यस्ता सर्त

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १८:३४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेलाई आलोचनामा समय खर्चन छाडेर पार्टीमा सक्रिय हुन भनेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब ४० मिनेटको भेटका क्रममा अध्यक्ष ओलीले डा पाण्डेलाई जिम्मेवारी दिन तयार रहेको तर त्यसका लागि अनुशासनमा बसेर काम गर्नुपर्ने सर्त राखेका छन्।

काठमाडौँको कीर्तिपुरमा एमालेले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गा दानमा लिएर केन्द्रीय कार्यालय भवन बनाउन लागेपछि गरेको टिप्पणीका कारण ओलीले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए।

गत पुस १० गते बसेको सचिवालय बैठकबाट डा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई निलम्बन गरिएको थियो। त्यही बैठकले पूर्वउपाध्यक्ष डा भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाला गरेको थियो।

त्यसअघि उनीहरूलाई स्पष्टीकरण पनि सोधिएको थियो। 

‘सकभर मिलेर जाऊँ, पार्टीमा सक्रिय हुनुपर्छ भन्नुभयो तर उहाँ (पाण्डे)ले स्पष्ट रुपमा मानिहाल्ने कुरा गर्नुभएको छैन,’ बालुवाटार स्रोतले भन्यो, ‘मिल्ने, मिलाउने प्रयास हो। पार्टीले निर्णय गरेर उहाँ सुध्रिनुभयो भन्न सक्छ। तर, उहाँले पनि त बाहिर नबोल्ने वा केही न केही सुधारका संकेत देखिनुपर्‍यो।’

डा पाण्डेलाई ओलीले कारबाहीका विषयमा ‘उपाध्यक्षहरूले तपाईँहरूको बारेमा मिस्इन्फर्मेसन गरेको’ पनि सुनाए। तर, कुन उपाध्यक्षबाट के कस्तो गलत सूचना दिए भन्नेचाहिँ खुलाएनन्।

त्यसको जवाफमा पाण्डेले भनिन्, ‘त्यसो भए हामीलाई किन त (कारबाही)? मिस्इन्फर्मेसन गर्नेलाई पो गर्नुपर्ने।’

त्यसपछि ओलीले पाण्डेसँगै गुनासो गरे, ‘त्यस्तो नलेख्नुभएको भए हुन्थ्यो। नबोल्नुभएको भए हुन्थ्यो।’

पाण्डेले मीनबहादुर गुरुङको दानमा पार्टी कार्यालय बनाउनु भनेको एमालेका ५ लाख कार्यकर्ताको शिर झुकाउने कार्य भनेर टिप्पणी गरेकी थिइन्। उनले आफ्नो त्यही धारणा अडिग रहेको बताइन्।

उनले भनिन्, ‘तपाईँहरूले पनि त दान स्वीकार नगर्नुभएको भए हुन्थ्यो नि त।’

गत असोज २५ गते प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान प्राप्त भएको भन्दै एमाले केन्द्रीय कार्यालयको भवन शिल्यानास गरेका थिए। गुरुङले त्यहाँ भवन पनि बनाइदिने र अर्को वर्षको दसैँमा उद्घाटन हुने गरी तयार गरिदिने घोषणा गरेका थिए।

बालुवाटारको भेटका क्रममा पाण्डेले आफ्नो भर्खरै प्रकाशित पुस्तक ‘भुईँमान्छे’ पनि प्रधानमन्त्री ओलीलाई उपहार दिएकी थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad