राजनीति


देउवा चाहन्छन्– ओली आफैले छिट्टै सरकारको ‘काँध फेरौँ’ भनून्

देउवा चाहन्छन्– ओली आफैले छिट्टै सरकारको ‘काँध फेरौँ’ भनून्

सागर न्यौपाने
बैशाख १५, २०८२ सोमबार १८:१२, काठमाडौँ

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्ताले ओलीको मुहारमा खुसी ल्याएको छ।

प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएर कांग्रेसका पदाधिकारीहरूले दैनिक सरकारको विकल्प सोच्नुपर्ने बताइरहेका बेला शनिबार मध्यरातिसम्म बालुवाटारमा ओली–देउवाबीच वार्ता भएको थियो। जसमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

यसअघि एक्लै ओलीसँग भेटेर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर आफ्नो कोटाका डा. गुणाकर भट्टलाई बनाउन सहमति गरेका थिए।

त्यसपछि देउवा साताव्यापी बैंकक भ्रमणमा गए। तर, ओलीले गभर्नर नियुक्त गरेनन्। हुन त आफै गभर्नरको दाबेदार कायममुकायम गभर्नर नीलम ढुंगानाले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट भट्टले दिएको राजीनामा स्वीकृत नगरेकी हुन्। तर ओलीले नै भट्टको राजीनामा स्वीकृत गर्न नदिई राखेको कतिपय कांग्रेसी नेताहरूको बुझाइ छ।

यस्तै, आन्दोलनरत शिक्षकको माग सम्बोधन नगरेको, चर्को कुरा गरेर माहोल बिगारेको भन्दै कांग्रेसका पदाधिकारी नै ओलीविरुद्ध अभिव्यक्ति दिइरहेका छन्। उपचार गरेर फर्किए लगत्तै देउवा यिनै विषयमा प्रष्ट हुन पनि बालुवाटार पुगेका थिए सायद। 

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको भेट

कांग्रेसमा बढिरहेको असन्तुष्टि र देउवाको विदेश भ्रमणबाट सशंकित एमालेपंक्ति सो भेटपछि ढुक्क देखिएको छ। प्रधानमन्त्री ओलीले सरकार ढाल्न चाहनेहरूको टाउको चिसो पानी खन्याएजस्तो भएको प्रतिक्रिया दिएका छन्।

जनतामा निराशा चुलिँदै गएको र कांग्रेसकै नेताहरूमाझ असन्तुष्टि बढेको विषयमा देउवा जानकार छन्। तर, एमालेको साथ छाड्ने पक्षमा उनी नरहेको कांग्रेस नेताहरूको भनाइ छ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अन्य पार्टीसँग मिलेर सरकार बनाउन नसकिने बताए। यो सरकारको विकल्प खोजी नभएको उनले दाबी गरे।

‘सभापतिले जे बोल्नुभयो प्रष्ट छ, धोकाको राजनीति गर्ने सभापतिको बानी छैन,’ खड्काले भने, ‘सानासाना दलहरू जोडेर संख्या पुगेको भए सरकार अस्थिर हुन्छ। अरु दलहरूको पनि संख्या जोडेर पुगेको भए सरकार तलमाथि हुने सम्भावना बढी हुन्थ्यो होला, अहिले त कि शेरबहादुर देउवाले चाहनुपर्‍यो, कि केपी शर्मा ओलीले चाहनुपर्‍यो। कांग्रेस सभापति वा एमाले अध्यक्षले नचाहीकन सरकार तलमाथि हुन्न।’

अरु दललाई लिएर सरकार बनाउन देउवा तयार नभएको निकटस्थ अर्का नेता ठोकुवा गर्छन्। देउवा आफू प्रधानमन्त्री बन्नुपर्दा एमालेबिनाको प्रधानमन्त्री बन्न तयार नभएको उनले दाबी गरे। 

‘किनभने एमालेभन्दा बाहिर गएपछि राप्रपा र रास्वपा लिनुपर्छ। त्यो जति अपरिपक्क र अनैतिक केही हुँदैन। एउटा राजावादी, अर्काे अस्थिरतावादी,’ उनले भने, ‘यो दुईवटालाई लिएर जानुभन्दा बरु एमालेकै केही कुरा खप्न राम्रो हुन्छ भन्ने उहाँको कुरा छ। स्थिरता भन्ने, दुई सिटे, तीनसिटे लफडा बोकेका पार्टी सरकारमा जानु उपयुक्त हुँदैन नै भन्ने हो।’ 

बरु देउवा एमालेसहितको राष्ट्रिय सरकारको पक्षमा रहेको देउवाका एक विश्वासपात्र नेताले दाबी गरे।

‘सरकारको काम यसरी हुन्न। यो कतिदिन थेग्ने र? न ब्युरोक्रेसीले नटेरेको हो, न प्रधानमन्त्रीले नजान्नेको हो,’ देउवानिकट ती नेताले भने, ‘एमालेसँगको सत्ता सहकार्यकालाई कायम राख्दै देउवाले राष्ट्रिय सरकारको नेतृत्व गर्नुपर्ने हुनसक्ने छ।’

र, त्यसको पहल ओली आफैँले गरे सजिलो हुने ती नेताको भनाइ छ।

‘अप्ठेरो परेर ओली आफैँले ‘देउवाजी काँध फेरौँ’ भन्नुभयो भने त्यो बेला सजिलो हुन्थ्यो,’ ती नेताले थपे, ‘कि त मलाई झुक्याएर भए पनि हटाउँछन्, बरु मेरै समर्थनमा देउवालाई छिट्टै प्रधानमन्त्री बनाउँछु भनेर ओलीले छोडिदिँदा राम्रो हुन्थ्यो। सरकारको कार्यशैलीबाट सन्तुष्ट छैनौँ, तर, यो भन्दा कमजोर विकल्पमा पनि जाँदैनौँ भन्ने सभापतिको प्रष्ट भनाइ छ।’ 

भारतसँगको सम्बन्ध र आन्तरिक परिस्थिति पनि अप्ठेरो बन्दै जाँदा देउवाको चाहना पनि बुझेर बजेट लगत्तै ओलीले नै काँध फेर्ने अर्थात् एमाले–कांग्रेस गठबन्धन कायम राखेर प्रधानमन्त्री देउवालाई सुम्पने प्रस्ताव राख्ने अपेक्षा देउवाको देखिन्छ। त्यस्तो अवस्थामा ‘संविधान संशोधनका लागि राष्ट्रिय सरकार’ को नारा दिएर माओवादी केन्द्रलाई पनि सरकारमा ल्याउने प्रयास पनि देउवाले गर्न सक्नेछन्। 

कांग्रेस तयार भए माओवादीले सघाउने भनिसकेको छ। त्यसैले ओलीले राष्ट्रिय सरकारका लागि नेतृत्व छाडिदिऊन् भन्ने देउवाको चाहना रहेको ती नेता भनाइ छ।

‘गणतन्त्र पक्षधर एकै ठाउँमा बसौँ भनेर कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरू, जो संविधानका पक्षधर छन्, पुराना, संघर्ष गरेका दलहरू एकठाउँमा बसौँ भन्दा उहाँ तयार हुनुहुन्छ,’ ती नेता भन्छन्, ‘तर, एमालेलाई बाहिर राखेर अन्य दलको सहारा लिएर शेरबहादुर सरकारमा जान गाह्रो छ। त्यो जोखिम हुन्छ।’

गभर्नर नियुक्त छिटो गर्न दबाब
आइतबार अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न कायममुकायम गभर्नर नीलम ढुंगानालाई निर्देशन दिएका छन्। नेताहरूका अनुसार भट्ट गभर्नर बन्ने पक्का भएको छ। ओलीसँग देउवाले वैशाख ४ गते नै यसको सहमति गरिसकेका छन्, अब कार्यान्वयनमा लैजान मात्र बाँकी छ। 

देउवाले प्रस्ताव गरेकै व्यक्ति गभर्नर बन्ने पक्का भएको ओली निकट एक नेताले नेपालखबरलाई बताए।

‘गभर्नरका बीचमा उहाँहरूबीच कुनै समस्या छैन, अब छिट्टै नियुक्ति प्रक्रिया अघि बढ्छ,’ बालुवाटार निकट एक नेताले भने, ‘छलफल भएर सहमति भएको छ। अब लामो समय जाँदैन।’

सरकार ढल्दैन, नियुक्तिहरू गर्दै जाउँ भनेर देउवाले ओलीलाई विश्वस्त पारेको नेताहरू दाबी गर्छन्।

बालुवाटारमा प्रधानमन्त्री ओलीले देउवासँग नेपाली कांग्रेसका कतिपय नेताहरूको अभिव्यक्ति नै उधृत गर्दै गठबन्धनको निरन्तरताबारे चासो राखेका थिए। कांग्रेसका महामन्त्री गगन थापाको ‘कांग्रेसले सरकार छाड्नु पर्ने हुन सक्छ’ भन्ने अभिव्यक्ति, प्रधानमन्त्रीविरुद्ध नेविसंघको प्रदर्शनबारे समेत छलफल हुँदा देउवाले कांग्रेस–एमाले गठबन्धनप्रति प्रतिवद्धता जनाएको स्रोतहरूले जनाएका छन्। 

‘मैले चाहेको भए नौ महिनाअघि नै पनि प्रधानमन्त्री हुन सक्थेँ, हाम्रो बीचमा जे सहमति भएको छ त्यही अनुसार अगाडि जाने हो, यताउता हुँदैन’, भेटमा देउवाको भनाइ उधृत गर्दै एक नेताले भने, ‘राष्ट्र बैंकको गभर्नर नियुक्ति ढिलो हुँदा पनि आशंका बढ्यो होला, त्यो नियुक्ति छिटो गरौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad