भारतले जम्मु कश्मीरमा भएको आतंककारी हमलामा संलग्नलाई न्यायको कठघरामा उभ्याउन प्रतिबद्ध रहेको बताएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन संवादमा भारतीय समकक्षी नरेन्द्र मोदीले क्रूर आतंकवादी हमलाका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिएका हुन्।
कश्मीर हमलामा एक नेपालीसहित २८ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय दूतावासले दुई नेताबीच कुराकानीमा हमलाको कडा निन्ता गरेको र जीवन गुमाएका प्रति समवेदना व्यक्त गरेको जनाएको छ।
दूतावासले भन्यो, 'नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्पर्क गरी जम्मु कश्मीरमा भएको जघन्य आतंकवादी हमलाको कडा निन्दा गर्नु भयो र बहुमूल्य जीवन गुमाएका प्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो।'
दूतावासका अनुसार मोदीले पनि आतंकवादी हमलामा नेपाली युवासहितको ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरे।
दूतावासले भनेको छ, 'प्रधानमन्त्री मोदीले उक्त आतंकवादी हमलामा एक युवा नेपाली नागरिकको मृत्यु भएकोप्रति समवेदना व्यक्त गर्नुका साथै क्रूर आतंकवादी हमलाका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिनुभयो। उक्त आतंकवादविरुद्धको लडाइँमा भारत र नेपाल एकसाथ उभिएका छन्।'
Shares

प्रतिक्रिया