राजनीति


एमालेले शिक्षकलाई भन्यो: वैशाख महिनाभित्रै शिक्षा विधेयक पारित हुन्छ, आन्दोलन रोक्नू

एमालेले शिक्षकलाई भन्यो: वैशाख महिनाभित्रै शिक्षा विधेयक पारित हुन्छ, आन्दोलन रोक्नू

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १५:४४, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शिक्षा विधेयक संसद्‌बाट वैशाख महिनाभित्रै पारित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।  बुधबार सभामुख देवराज घिमिरेसमक्ष दलका प्रमुख सचेतक र सचेतकहरूको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट अधिवेशनबाटै शिक्षकका माग सम्बोधन हुने बताएका हुन्। 

सरकारले बजेट अधिवेशन वैशाख १२ गतेदेखि डाकेको छ। उनले शिक्षकहरूमा शिक्षाप्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह गरे।

'शिक्षक साथीहरूलाई विश्वस्त पार्ने गरी उहाँहरूको भावनालाई पनि सम्मान गर्ने गरी काम गरिरहेका छौँ,' उनले भने, 'हामीले काम गरिरहेका कुराहरूलाई पनि उहाँहरूले पनि सकारात्मक ढंगले ग्रहण गरिदिनुपर्ने अवस्था छ र त्यस आधारबाट हेर्ने हो भने उहाँहरूले नियमित शैक्षिक गतिविधिहरूमा जोडिएर अहिलेको विधायकी काम जो विधेयक निर्माणको आवश्यक यसको अंग पूरा गर्न समय दिनुपर्‍यो।'

संसद् अधिवेशनको नियमित कार्यसूचीका नीति तथा कार्यक्रमलाई रोकेर भए पनि शिक्षा विधेयक पारित गर्ने उनको भनाइ छ। उनले शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसद्‌मा आउन वैशाखको अन्तिम सातासम्म लाग्न सक्ने बताए।

'सार्वजनिक शिक्षाप्रतिको उहाँको जवाफदेहिता के छ? उहाँहरू स्वयंले जान्नुहोस्। त्यसप्रति जवाफदेहितामा उभिनुपर्छ होला भन्ने ठान्नुहोस्,' उनले थपे, 'तर सरकारले उहाँहरूको न्यायोचित मागहरू पूरा गर्छ भन्ने कुरामा, समयमै विधेयक आउने कुरामा संसद्ले काम गरिरहेको छ।'

शिक्षकहरू तीन हप्तायता विभिन्न मागसहित काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad