ग्लोबल


अहिले मोर्चा जहाँ छ, त्यहीँ युद्ध टुङ्ग्याउने पुटिनको प्रस्ताव

क्रिमियामा रुसी स्वामित्वलाई मान्यता दिने अमेरिकी संकेत
अहिले मोर्चा जहाँ छ, त्यहीँ युद्ध टुङ्ग्याउने पुटिनको प्रस्ताव

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १५:४९,

भ्लादिमिर पुटिनले युक्रेनमा अहिलेको अग्रमोर्चा जहाँ छ, त्यहीँ लडाइँ रोक्ने प्रस्ताव गरेका छन्। डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफसँग यसै महिना सेन्ट पिटर्सबर्गमा भएको छलफलमा पुटिनले यस्तो प्रस्ताव गरेका हुन्।

रुसले युक्रेनबाट टुक्र्याएको चार क्षेत्रका केही हिस्सा युक्रेनकै नियन्त्रणमा छ। पुटिनले आफ्नो कब्जामा नरहेका ती भूभागमा रुसले दाबी छाड्ने बताएका हुन्। 

रुस र युक्रेन दुवैका लागि स्वीकार्य हुनेगरी शान्तिका सर्तहरूको खोजीमा अमेरिका छ। त्यसका लागि वासिङ्टनले क्रिमियामा रुसी स्वामित्वलाई मान्यता दिने र कम्तीमा रुसको नियन्त्रणमा रहेका क्षेत्रहरूहरूमा उसको तात्कालिक नियन्त्रण स्वीकार्नेजस्ता उपाय अघि सारेको छ। 

यसैको प्रतिक्रियास्वरुप रुसले आफ्नो अधिकतम लक्ष्यबाट पछि हटेर अग्रमोर्चा जहाँ छ, त्यहाँसम्म मात्र दाबी गर्ने बताएको हो। 

तर, युक्रेनले भने भूमिका सम्बन्धमा सौदा नहुने अडान राख्दै आएको छ। युरोपेली मुलुकहरूले पुटिनले ट्रम्पलाई फसाउन खोजेको आशंका गरिरहेका छन्। 

बुधबार युक्रेनी अधिकारीहरूले लन्डनमा युरोपेली र अमेरिकी अधिकारीहरूसँग सो प्रस्तावबारे छलफल गर्दै छन्। तर, सो छलफलमा सहभागी हुने भनिएका विट्कोफ र विदेशमन्त्री मार्को रुबियो भने नआउने भएका छन्। ट्रम्पका युक्रेन दूत किथ केलोग सहभागी हुने बताइएको छ।

यहीसाता विट्कोफले पुटिनसँग फेरि भेट्ने कार्यक्रम छ। 

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले मंगलबार ट्रम्पबाट कुनै प्रस्ताव प्राप्त नभएको बताएका छन्। युद्धविराम भएपछि पुटिनसँग सोझै वार्ता गर्न आफू तयार हुने उनको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad