आफ्नो गृहजिल्ला ताप्लेजुङमा सुरक्षाका लागि प्रहरीले आफूलाई शौचालयभित्रै थुनेको भन्ने खबर भाइरल भएपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले मुख खोलेका छन्।
कञ्चनजंघा महोत्सव उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसँगै शुक्रबार सांसद भट्टराई ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेप पुगेका थिए।
त्यस क्रममा ‘नो केबलकार’ समूहले घेरा हालेपछि सुरक्षाका लागि प्रहरीले भट्टराईलाई शौचालयभित्रै थुनेर राखेको चर्चा भइरहेको छ।
यसैबीच शनिबार एमाले सचिव भट्टराईले नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरिएकामा आफूलाई कुनै दुःख नलागेको तर विरोध सभ्यताको सीमाभित्र हुनुपर्ने टिप्पणी गरेका हुन्।
‘कार्यक्रम सकेर फर्कने क्रममा २/४ जनाले मेराविरुद्ध नारा लगाएछन्। नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन्। मलाई कुनै दुःख छैन। सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनुपर्दछ’, नेता भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जसले जति जानेको छ वा जे गर्न लगाइएको छ, त्यति नै गर्ने हो। मेरो आग्रह- विवेकले काम गरौँ। प्रायोजकहरूको हतियार नबनौँ। सामाजिक एकता र सद्भाव नबिगारौँ।’
Shares

प्रतिक्रिया