राजनीति


बालुवाटार बैठक: देउवाको प्रस्तावअनुसार गभर्नर नियुक्त गर्न ओली लचक

बालुवाटार बैठक: देउवाको प्रस्तावअनुसार गभर्नर नियुक्त गर्न ओली लचक

फाइल तस्बिर


सागर न्यौपाने
बैशाख २, २०८२ मंगलबार १५:४३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा छलफल भएको छ।

बिहान ११ बजे सुरू भएर करिब ४५ मिनेट भएको भेटमा गभर्नर नियुक्ति र शिक्षक आन्दोलनको विषयमा मुख्यतः छलफल भएको थियो। ओलीसँगको अधिकांश भेटघाटमा कोही न कोही नेता साथै लिएर जाने देउवा मंगलबार एक्लै बालुवाटार पुगेका थिए। 

नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ओलीले नीलम ढुंगानालाई अगाडि सारिरहेका बेला देउवाले त्यसमा विमति जनाएका थिए। उनले आफूले दिने नामबाट नियुक्ति गर्नुपर्ने बताएका थिए।

नीलम हाल डेपुटी गभर्नरका हैसियतमा कायममुकायम गभर्नरका रूपमा काम गरिरहेकी छिन्। 

यसपटक महिलालाई राष्ट्र बैंकको नेतृत्व दिनुपर्छ भन्ने ओलीको प्रस्ताव थियो।

‘कतै बाहिरबाट ल्याउनुपर्ने होइन, भित्रै स्वाभाविक दाबेदार उम्मेदवार हुनुहुन्छ, ट्यालेन्ट पनि हुनुहुन्छ, महिला पनि हो,’ ओलीको प्रस्तावबारे बालुवाटार स्रोतले भन्यो।

तर, त्यसमा देउवा सहमत भएनन्।

नीलमलाई अघि बढाउन खोजेको कुरा पुष्टि गर्दै देउवानिकट स्रोतले भन्यो, ‘उहाँ (ओली)को कुरा पहिलादेखि नै त्यही छ, त्यो स्वाभाविक पनि हो। तर, कांग्रेसले त्यो कुरा मान्दैन। गभर्नर कांग्रेसकै प्रस्तावअनुसार नियुक्त हुन्छ। कुरा मिल्दै छ।’

केहीबेरको छलफलपछि देउवाको प्रस्तावमा ओली लचक भएको स्रोतले बताएको छ।

कांग्रेस नेतृत्वले गुणाकर भट्ट, राजेन्द्रकुमार क्षत्री, ज्ञानेन्द्र ढुंगाना र रवीन्द्र पाण्डेमध्ये एक जनालाई अघि सार्ने गरी कुरा भइरहेको देउवानिकट नेताहरूको भनाइ छ।

गभर्नर पद चैत २५ गतेदेखि रिक्त छ। सत्ता गठबन्धनमा कुरा नमिल्दा गभर्नर सिफारिसका लागि अर्थमन्त्री नेतृत्वको समितिले पनि काम गर्न सकिरहेको छैन। कानुनतः पद रिक्त हुनुभन्दा एक महिनाअगावै गभर्नर नियुक्तिको व्यवस्था गरिसक्नुपर्ने व्यवस्था छ। 

मन्त्रिपरिषद् बैठक मंगलबार नै साँझ बस्दै छ।

सरकार ढल्ने चर्चाका बीच आज भएको छलफलपछि त्यस खालको अन्योल र आशंका पनि निवारण भएको ती नेताले बताए।

‘सरकार ढल्ने कुरा हल्ला चलाएर हुँदैन,’ ती नेताले भने, ‘यसअघि प्रचण्ड सरकार ढल्दा पनि हल्ला नगरी एकै दिनको बैठकले तय गरेको थियो। अहिले हल्लाका पछाडि लाग्नु जरुरी छैन।’

यस्तै दुई नेताबीचको बैठकमा शिक्षक आन्दोलनका विषयमा पनि छलफल भएको थियो।

सरकार सञ्चालनका लागि बनाइएको संयत्रको बैठक चाँडै नै बोलाएर अहिले देखिएका सबै खालका समस्याको निकास खोज्न दुई नेता सहमत भएको बालुवाटार स्रोतले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad