समसामयिक विषयमा छलफल गर्न भनेर नयाँ वर्षको पहिलो दिन सोमबार बोलाइएको नेकपा एमालेको सचिवालय बैठक तीन कारणले महत्त्वपूर्ण थियो।
एक, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षको पहिलो महिनामै सरकार ढल्ने ठोकुवा गरेका छन्। र, कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारमा रहेर वा बाहिरै बसेर भए पनि प्रधानमन्त्रीमा समर्थन गर्न तयार रहेको खुलेरै बताएका छन्।
कुरा प्रचण्डको मात्र होइन। सत्ता गठबन्धनको मुख्य घटक कांग्रेसकै कतिपय नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनामा खुल्न थालेका छन्। खासगरी ओली सरकारको मुख्य काँध थापेका महामन्त्री गगन थापाकै पछिल्ला एक साताका अभिव्यक्ति केलाउने हो भने उनी प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट सुनिन थालेका छन्। जबकि, सरकारलाई सफल बनाउन भनेर गठन गरिएको कांग्रेस–एमाले संयन्त्रका एउटा महत्त्वपूर्ण खम्बा थापा नै हुन्।
कांग्रेसभित्रका सदाबहार प्रतिपक्षीजस्ता बनेका नेता शेखर कोइरालाले त सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्नु कुनै अनौठो भएन। बरु उनले आलोचना थप चर्काउन थालेका छन्।
यो त भयो सरकारको कुरा।
त्यसबाहेक, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको नेतृत्व लिने गरी राजनीति प्रवेश गर्न तयार रहेको खुलेर अभिव्यक्ति दिएकी छन्, नेपालखबरसँगको कुराकानीमा।
तेस्रोपटक अध्यक्ष बन्नका लागि विधान संशोधन गरिसकेका ओलीका लागि भण्डारीको यो अभिव्यक्ति प्रिय त छैन नै, एमालेमा आफ्नो कोही प्रतिस्पर्धी नभएको बताइरहेका ओलीका लागि यो खुला चुनौती नै हो। भलै, ओलीकै प्रस्तावमा एमालेको नेतृत्वमा पुग्ने भण्डारीको चाहना किन नहोस्।
यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजगद्दीमा फर्कन गरिरहेका प्रयास, उनका समर्थकहरूका क्रियाकलाप, सरकारविरुद्ध चुलिँदै गएको असन्तुष्टि र फेसबुकमा नेतृत्वको निर्णयविरुद्ध अभिव्यक्ति दिएको भनेर कारबाहीमा परेका दुई नेतृ डा विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको ६ महिने निलम्बन अवधि सकिनै लागेका बखत केही महत्त्वपूर्ण निर्णय हुन सक्ने अपेक्षासहित नेताहरू च्यासलस्थित पार्टी कार्यालयको हलमा पुगेका थिए।
नयाँ वर्षकै दिन भएकोले केही सकारात्मक सन्देश दिने प्रयास होला भन्ने उनीहरूको अपेक्षा हुने नै भयो।
बैठकलाई कति महत्त्व दिइएको थियो भन्ने कुरा नयाँ वर्षकै दिन भए पनि नेताहरूले दिएको प्राथमिकताबाट पनि देखिन्छ। बैठकमा तीनजना बाहेक सबै सचिवालय सदस्य समयमै उपस्थित भएका थिए। उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बिरामी, सचिव योगेश भट्टराई जिल्लाबाहिर र अर्का सचिव टोपबहादुर रायमाझी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा भएका कारण निलम्बित छन्।
तर, सधैँजस्तै ओली बैठकमा ढिला गरी पुगे।
साढे ११ बजेका लागि भनेर बोलाइएको बैठक पौने १ बजे मात्र सुरु भयो।
सिस्नु लगाएर ओलीले झारे विष, महत्त्वपूर्ण मुद्दामा मौन
सचिवालय बैठकमा महासचिवले एजेन्डा प्रस्तुत गरेपछि बैठक अघि बढ्नुपर्ने हो। तर, त्यसो भएन।
सुरुमै विसु पर्वको अवसरमा सिस्नु लगाउने कार्यक्रम भयो। ओलीले पार्टीका सबै इन्चार्जलगायत सचिवालय सदस्यलाई सिस्नु लगाइदिए।
नेताहरुका अनुसार २ घण्टा बसेको बैठकमा ४५ मिनेट त सिस्नु लगाउने र मिठाई बाँड्ने कार्यक्रम भयो।
सुदूरपश्चिममा विसु पर्वलाई निकै श्रद्धापूर्वक मनाइन्छ।
खासगरी वर्षभरिका रिस, राग, द्वेषमुक्त गराउन र नयाँ शिराबाट फेरि सम्बन्ध अघि बढाउन प्रत्येक वर्षको वैशाख १ गते यो पर्व मनाउने परम्परालाई एमालेले सचिवालयको बैठकमै प्रवेश गरायो।
‘सुदूरपश्चिमको विसु पर्व हुन्छ, आज नयाँ वर्षको दिन सिस्नु लगाउने, पुराना तुषहरू, खटपट, व्यक्तिगत झैझगडा अथवा पुराना रोगव्याधिसहित सबै विष सिस्नु लगाएर फाल्ने। सचिवालय बैठकमा अध्यक्षबाटै सुरुवात गरेर सबैलाई सिस्नु लगाइदिनुभयो,’ एक पदाधिकारीले भने, ‘यो साल राम्रो होस्, मेलमिलाप होस्, प्रगति होस् भन्ने त्यसको सार हो। प्रधानमन्त्रीले इन्चार्जहरू पुराना–नयाँ आउनुस् भन्नुभयो। अनि सबैलाई सिस्नु लगाइदिनुभयो।’
बैठक मुख्यगरी यही वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने, त्यस अवसरमा सम्मान गर्नुपर्ने व्यक्तिको नामावली तय गर्ने र ११ गते काठमाडौँमा एक लाख युवा उतार्ने विषयमै केन्द्रित रहेको नेताहरू दाबी गर्छन्।
तर, विगतका तुषहरु बिर्साउने र विष झार्ने गरी सिस्नु लगाएका ओलीले ६ महिने निलम्बनमा परेका नेताहरूको विषयमा केही उल्लेख गरेनन्।
‘नेताहरूको कारबाही फुकुवाको बारेमा केही भएन, पूर्वराष्ट्रपति विद्या भण्डारीज्यूको विषयमा पनि केही कुरा उठेन,’ ती नेताले थपे, ‘यसबारे प्रधानमन्त्रीले पनि कुनै कुरा उठाउनुभएन।’
जबकि, ओलीले चैत २९ गते बुटवल पुगेर डेढ दशक पर्खेर मात्रै आफ्नो विकल्प खोज्न चुनौती दिएका थिए।
‘एमालेले मिसन ०८४ अभियान चलाइरहेको छ, विकास निर्माणका काम पनि धमाधम भइरहेका छन्,’ उनको भनाइ थियो, ‘तर, हाम्रो काम देखेर प्रतिगामी तत्त्वहरू छटपटीमा छन्। केपी ओलीबिनाको अभियान चलाउनेले १५-२० वर्ष पर्खिनुस्, अनि भेटिन्छ केपी ओलीबिनाको एमाले।’
नेपालखबरसँग विशेष कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्रस्ट शब्दमा एमालेको नेतृत्व लिएर राजनीति गर्ने अभीष्ट सार्वजनिक गरेको विषय भने सोमबारको बैठकमा ओलीले मौनता साँधेका छन्।
सरकार जोगाउन कांग्रेसकै भर
प्रधानमन्त्री ओलीले सरकारको विषयमा भने बैठकमा मुख खोलेको नेताहरूले बताए। सरकारमा केही समस्या नभएको ओलीको भनाइ थियो। उनले कांग्रेस सभापति शेरबहादुर देउवाप्रति भरोसा पनि जनाए।
‘प्रचण्डजी सुरुदेखि नै सरकारबाट हटाउन लाग्नुभएको छ,’ ओलीले बैठकमा भने, ‘तर, त्यो स्थिति छैन। कांग्रेस र शेरबहादुरजीले तलमाथि नगरेसम्म त्यो केही हुँदैन।’
‘यद्यपि, आज खासै त्यसबारे लामो कुरा गर्नुभएन,’ ती नेताले थपे।
उता, एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार फेरबदलको अनावश्यक हल्ला सत्य नभएको दाबी गरे।
‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ, यसले उहाँमा सरकारबाहिर रहँदाको एक खालको कुण्ठा, पीडाबोध मात्र प्रकट भएको हो,’ बैठकपछि ज्ञवालीले भने, ‘अहिले सरकार परिवर्तन न कतैबाट सम्भव छ, न त्यसको सान्दर्भिकता र औचित्य छ।’
‘राष्ट्रिय राजनीतिका यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरा मात्रै गर्नु भनेको सत्ताप्रतिको आशक्ति, सत्तामोहबाहेक अर्थाेक केही पनि होइन। त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ। त्यसलाई पनि खण्डन गरेका छौँ,’ ज्ञवालीले थपे।
Shares

प्रतिक्रिया