नेपाली कांग्रेस निकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा समानान्तर गतिविधि गर्न खारेजेको संघका महामन्त्रीद्वयले आरोप लगाएका छन्।
महामन्त्रीहरू गणेशबहादुर खत्री र किरणकुमार पासवानले शनिबार विज्ञप्ति प्रकाशित गरी संघको लेटरप्याड दुरुपयोग गरिएको आरोप लगाएका छन्।
संघबाट यही ३१ गते नयाँवर्षको शुभकामना आदानप्रदान कार्यक्रम तथा अन्य गतिविधि सामाजिक सञ्जालमा सम्प्रेषण भएकोमा उनीहरूको आपत्ति छ।
‘संघका साथीहरू बीच भ्रम सृजना भइ कार्यक्रमका बारेमा बारम्बार सोधपुछ गरेको हुँदा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको तर्फबाट शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगरिएको’ महामन्त्रीद्वयको विज्ञप्तिमा उल्लेख छ।
‘यस्ता सूचनाको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु। यसै गरी यस संघको लेटरप्याड तथा छापको समेत दुरूपयोग भएको पाइएकोले यस्ता अनधिकृत कार्यहरू तत्कालै रोकी राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघलाई अझ बलियो र संगठित बनाउँदै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिमा सहकार्य गर्नका लागि सम्बन्धित पक्षसँग अनुरोध गर्दछौँ’ खत्री र पासवानद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम केन्द्रीय महाधिवेशन चैत ८ र ९ गते सम्पन्न भएको थियो।
निर्वाचित नयाँ कार्यसमितिले काम सुरु गरिसकेको अवस्थामा समानान्तार गतिविधि सञ्चालन भएको हो।
नेपाली कांग्रेस भित्रको गुटबन्दीको असर लोकतान्त्रिक अपाङ्ग संघमा पनि परेको हो।
नेता डा. शेखर कोइराला पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएका विकास थापाले निर्वाचित समितिलाई अमान्य भन्दै अर्को समिति बनाएका हुन्। पहिलो महाधिवेशनबाट माधव चम्लागाईं अध्यक्ष निर्वाचित भएका थिए।


प्रतिक्रिया