राजनीति


गृहमन्त्रीलाई सांसदले सोधे: प्रहरीलाई पेलेर जाने प्रसाईंलाई किन छोडियो?

गृहमन्त्रीलाई सांसदले सोधे: प्रहरीलाई पेलेर जाने प्रसाईंलाई किन छोडियो?

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १३:११, काठमाडौँ

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा हिंसात्मक बनाउन उक्साउनेलाई दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ नगरेको विषयमा सांसदहरूले गृहमन्त्री रमेश लेखकलाई प्रश्न प्रश्न गरेका छन्।  

आज शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाबारे जवाफ दिन उपस्थित भएका गृहमन्त्री लेखकलाई जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले प्रसाईंलाई पक्राउ नगरेकोबारे प्रश्न गरेका हुन्। 
 
'प्रहरीलाई गाडीले पेलेर जान उक्साउनेलाई किन छोडियो? यो संयमताको हद हो? यस्तो संयमता अपनाउनुपर्ने थियो?,' उनले भने, 'सर्वसाधारणमाथि कसरी गोली लाग्यो? केही दलको कार्यालयमा सुरक्षा दिइयो। नजिकै रहेका राजनीतिक दलको कार्यालयमा किन सुरक्षा दिइएन?' उनले भने।

नेकपा (माओवादी केन्द्र)का प्रमुख समेतक हितराज पाण्डेले सरकारसँग चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकारबारे जानकारी मागे। 

'तीनकुने नै किन ठाउँ दिइयो? मुख्य योजनाकार को हो? कसले जिम्मेवारी लिने? राजावादी भनेर सबैलाई लगाएर हुँदैन' उनले भने। 

उनले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा भएको क्षतिबारे पनि सरकारको ध्यानाकर्षण गराए। 

'समाजवादी मोर्चाको एउटा घटकको कार्यालयमा समयमै सुरक्षाकर्मी पुगेको भए आगलागी हुँदैनथ्यो भन्ने छ,' उनले भने, 'किन सुरक्षाकर्मी पुगेन? दुर्गा प्रसाईंलाई आफ्नै अघि हुँदा नसमाउने, अनि पक्राउ गर्ने योजना? छानबिन आयोग बन्छ कि बन्दैन?'

जवाफमा गृहमन्त्री लेखकले राजावादीको प्रदर्शनलाई ‘हिंसात्मक र अमानवीय’ भएको प्रतिक्रिया दिए।   

'तीनकुने कार्यक्रम हिंसात्मक, अमानवीय, उच्छृंखल भयो। यसको मुख्य उद्देश्य नै संविधान उल्ट्याउने, व्यवस्था समाप्त पार्ने थियो,' उनले भने, 'नियोजित रूपमा अराजकता फैलाउने कार्य हो। सुरक्षाकर्मीमाथि गाडी गुडाउने प्रयास क्षम्य हुन सक्दैन।'

कार्यक्रमको अनुमति लिँदा शान्तिपूर्ण कार्यक्रम हुन्छ भनिएको भन्दै लेखकले फितलो जवाफ दिए। उनले भने, 'सुरक्षाकर्मीलाई किच्ने नियतका साथ गाडी गुडाएपछि उत्तेजित बन्यो। मञ्चमा उभिनुभएकोले संसद् कब्जा गर्नुस्, हामी छौँ भनेको भिडियो देखियो सुनियो। उत्तेजित भीडले घरमा मानिस छन् भन्ने थाहा पाउँदा पाउँदै आगो लगायो।'

आफ्ना अगुवाबाट निर्देशन पाएको भीडले सञ्चारगृह र दलका कार्यालयमा आगजनी गरेको उनले बताए। जडीबुटी प्रशोधन केन्द्र पनि राजावादी समूहले आगो लगाएर ध्वस्त बनाएको उनले उल्लेख गरे।

'भीडको उदण्डता हेर्दा सुरक्षाकर्मीले संयमता अपनाएकाले थप मानवीय क्षति रोक्यो। लोकतन्त्र, संविधान सित्तै आएको होइन पूर्वजको त्याग, तपस्या छ,' उनले भने, ' हिसांत्मक गतिविधि, उदण्डताका भरमा उल्ट्याउने?'

तीनकुनेको हिंस्रक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने निजी तथा सरकारी संरचनामा आगलागी र तोडफोड भएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad