राजनीति


मोदी बसेकै होटलमा शुक्रबार ४ बजे हुँदै छ ओली–मोदी भेटवार्ता

मोदी बसेकै होटलमा शुक्रबार ४ बजे हुँदै छ ओली–मोदी भेटवार्ता

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८१ बिहिबार २०:४६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भोलि (शुक्रबार) थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता हुने भएको छ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको ‘साइडलाइन’ वार्ता गर्न दुई प्रधानमन्त्रीबीच भेट हुन लागेको हो।

प्रधानमन्त्रीको भ्रमणतालिकाअनुसार, भोलि शुक्रबार साँझ ४ बजे भेट तय भएको छ। भेट बैंककस्थित म्यान्डारिन ओरियन्टल होटलमा हुनेछ। यो त्यही होटल हो, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बसेका छन्। 

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भने ब्यांककस्थित सांग्रिला होटलमा बसेको छ। मोदीसहितको भारतीय प्रतिनिधिमण्डल रहेको ओरेन्टल होटल नेपाली प्रतिनिधिमण्डल रहेको सांग्रिला होटलबाट करिब १५ मिनेटको दूरीमा छ। 

स्रोतका अनुसार, ओली–मोदीबीचको भेटवार्ता २०–३० मिनेटसम्मको हुनसक्छ। दुई नेताबीच हार्दिकता थपिँदा थप केही मिनेट बैठक लम्बिन सक्ने स्रोतहरूले बताएका छन्। 

दुई शीर्ष नेताबीचको भेटवार्तामा नेपाली पक्षबाट प्रधानमन्त्री ओलीका साथ अन्य ६ शीर्ष अधिकारीहरू रहनेछन्। तिनमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अर्का सल्लाहकार डा युवराज खतिवडा हुनेछन्। 

यसैगरी मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई पनि दुई प्रधानमन्त्रीबीचको भेटवार्तामा सहभागी हुने बताइएको छ। 

बिमस्टेकको शिखर सम्मेलन भोलि नै हुनेछ। बैठकमा बिमस्टेक राष्ट्रका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बिमस्टेक सम्मेलनका अलावा प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमणमा समेत भएकाले शनिबार बिहानसम्म ब्यांककमा हुनेछन्।

गत मंगलबार (चैत १९ गते) बैंकक प्रस्थान गरेका प्रधानमन्त्री ओलीले हिजो २० गते त्यहाँका समकक्षी पे थोङ थान् शिनावातसँग द्विपक्षीय औपचारिक वार्ता गरेका थिए।  

आज बिहीबार बिहान व्यवसायीहरूको टोलीसँग भेटेका उनले दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)मा सम्बोधन गरे। साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूका लागि आयोजित रात्रिभोजमा सहभागी भए।

उनले चैत २२ गते बिमस्टेक शिखर सम्मेलनमा सम्बोधन गर्नेछन्। तर, उनले साइडलाइन भेटहरू आजैदेखि गरिरहेका छन्। 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने आज (बिहीबार) मात्र बैंकक पुगेका छन्। यसै मेसोमा उनी पुनः निर्वाचित भएर आएपछिको पहिलो श्रीलंका भ्रमण पनि गर्दै छन्।

थाइल्यान्ड प्रस्थान गर्नुअघि उनले बिमस्टेक राष्ट्रका नेताहरूलाई भेट्न उत्सुक रहेको बताएका थिए। उनको भनाइ थियो, ‘बिमस्टेक राष्ट्रका नेताहरूलाई भेट्न र हाम्रा जनताको हितलाई प्राथमिकतामा राख्दै सहयोगलाई अझ बलियो बनाउन अर्थपूर्ण छलफलमा संलग्न हुन उत्सुक छु।’

भारतीय प्रधानमन्त्री मोदी बिमस्टेक सम्मेलनपछि श्रीलंकाको भ्रमणमा जाने कार्यक्रम छ। आफ्नो व्यस्त समयका बाबजुद मोदीले आफ्ना नेपाली समकक्षीसँग भेटवार्ता गर्न लागेका हुन्।

यसअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला भेटवार्ता भएको थियो। नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले उनलाई भ्रमणको निम्तो पनि दिएका थिए। 

अहिलेसम्म न मोदीलाई नेपाल भ्रमण गराउने प्रयास सफल भएको छ न त ओलीले भारत भ्रमणको निम्तो पाएका छन्।

यसबीचमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तीनपटक भारत गइसकेकी छन्। दुई प्रधानमन्त्रीबीचको ‘चिसोपना’ मेटाउन राणाका यी भ्रमण फलदायी हुन सकिरहेका छैनन्।

यसैबीचमा काठमाडौँमा केही अनपेक्षित घटनाक्रमहरू देखापरिरहेका छन्। खासगरी पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरूको चैत १५ को सडक प्रदर्शनले हिंस्रक रूप लिएको छ। तिनै समर्थकमध्येबाट फागुन २५ मा गरिएको ज्ञानेन्द्रको स्वागत कार्यक्रममा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर पनि प्रदर्शन गरएको थियो। 

त्यस घटनापछि भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले आदित्यनाथलाई लखनउ पुगेर भेटवार्ता गरेका थिए। यस पृष्ठभूमिमा दुई देशका सरकार प्रमुखबीच हुन लागेको बैंककको भेटवार्तालाई चासोका साथ हेरिएको छ।

सरकार र प्रतिनिधिमण्डलका तर्फबाट मोदीसँगको भेट तालिकाबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad