राजनीति


काठमाडौँ महानगरमा तमासा: चाबी लिएर मेयर सम्पर्कविहीन, ताला फोडेर प्रशासकीय प्रमुखले गरे हाजिर

काठमाडौँ महानगरमा तमासा: चाबी लिएर मेयर सम्पर्कविहीन, ताला फोडेर प्रशासकीय प्रमुखले गरे हाजिर

नेपालखबर
चैत २१, २०८१ बिहिबार १३:३९, काठमाडौँ

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कर्मचारीहरूले उनको कार्यकक्षको ताला फोडेर प्रवेश गराएका छन्।

उपप्रमुख सुनीता डंगोल, वडाध्यक्ष तथा कार्यपालिका सदसस्यसहितको अनौपचारिक बैठकपछि उनीहरूले ताला फोडेर गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराएका हुन्।

गुरागाईँ ३ महिना १४ दिनपछि आज कार्यालय फर्किएका हुन्।

अनौपचारिक बैठकमा नगर प्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले तपाईँले लिखित आदेशमा ताला लगाएको कि मौखिक आदेशमा भनेर प्रश्न गरेकी थिइन्।

पाण्डेले मौखिक आदेशमा ताला लगाएको भनी जवाफ दिएका थिए।

पाण्डेले त्यस्तो प्रतिक्रिया दिएपछि कर्मचारीहरू थप आक्रोशित बनेका थिए। त्यसपछि कर्मचारीहरूले गुरागाईँलाई लिएर कार्यकक्षतर्फ लगेका थिए।

कार्यकक्ष प्रवेश गरेपछि उनले हाजिर गरे।

त्यसअघि गुरागाईँसहितको बैठकमा उपप्मुख डंगोलले प्रमुख शाहलाई कोठामा बसेर निर्देशन दिने होइन, कार्यालयमा आएर समस्या समाधानका लागि पहल गर्न सुझाव दिएकी थिइन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौँ महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै एक महिनाअघि नै पत्र पठाएको थियो। तर, मेयर शाहले भने अर्को प्रशासकीय अधिकृत पठाइदिन ताकिता गरिरहेका थिए।

कार्यालय प्रवेश गर्न नपाएपछि गुरागाईँले काम गर्ने वातावरण बनाइदिन मन्त्रालयमा निवेदन दिँदै गुहार मागेका थिए।

त्यसपछि मन्त्रालयले पठाएको पत्रमा भनिएको थियो, ‘त्यहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सरोजप्रसाद गुरागाईँले आफूलाई खटाएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्य वातावरण बिथोलिएको तथा मिति २०८१ पुस ८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनुहुन भनी यस मन्त्रालयमा निवेदन पेसगर्नुभएको हुँदा निजलाई त्यहाँ महानगरपालिकामा हाजिर भई कार्य गर्ने सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालय (माननीय मन्त्रीस्तर)को २०८१ फागुन २१ को निर्णय अनुसार अनुरोध छ।’ 

प्रमुख शाहले गुरागाईँलाई अवरोध गर्न नगर प्रहरी परिचालन गरेका थिए। कर्मचारीको सहयोगमा उनी नगर प्रहरीको अवरोध छिचोल्दै कार्यालय प्रवेश गरेका थिए।  

कार्यालय प्रवेश गरे पनि उनी कार्यकक्षमा अर्को तगारो देखियो। उनको कार्यकक्षमा चाबी लगाइएको थियो।

चाबी खोज्दा नभेटिएपछि कर्मचारीहरूले प्रहरीसँग सोधेका थिए। प्रहरीले ताल्चा मेयरकै निर्देशनमा लगाइएको र चाबी पनि मेयरसँगै रहेको जवाफ दिएका थिए।

गुरागाईँ कार्यकक्षमा प्रवेश गर्नबा रोकिएपछि बोर्ड बैठक हलमा उपप्रमुख डंगोलको अध्यक्षतामा वडाध्यक्ष, कार्यपालिका सदस्य र उच्च अधिकृतहरूको बैठक बसेको थियो। वडाध्यक्षहरूले समेत मेयर शाहले समस्या समाधानमा भन्दा पनि स्टन्टमा बढी ध्यान दिँदा समस्या भएको बताएका थिए।

बैठकले नियमित कार्यसञ्चालन गर्ने निर्णय गरेपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न पुगेका थिए।

शाहले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर नियमित तलबसमेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरू पनि असन्तुष्ट बनेका थिए। 

गुरागाईँ कार्यालय पुग्दा कर्मचारीहरूको ठूलो समूहले बालेनविरुद्ध नारावाजी गरेका थिए।

कर्मचारीहरूकै सहयोगमा गुरागाईँ नगर प्रहरीको अवरोध छिचोल्दै अघि बढेका थिए। यस क्रममा निकैबेर कमलादीस्थित महानगरपालिकामा तनाव भएको थियो।

मेयर शाहले पुरानो बसपार्कस्थित काठमाडौँ टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि कारवाही गर्न छानबिन समिति बनाएका थिए। शाहले कार्यालय प्रवेशमै रोक लगाएपछि गुरागाईँले गत पुस ८ गतेदेाखि हाजिर गर्न पाएका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad