राजनीति


महानगर प्रहरी प्रमुखलाई उपमेयरले पारिन् र्‍याखर्‍याखती

महानगर प्रहरी प्रमुखलाई उपमेयरले पारिन् र्‍याखर्‍याखती

महानगर प्रहरी प्रमुख राजु पाण्डे


नेपालखबर
चैत २१, २०८१ बिहिबार १३:३४, काठमाडौँ

काठमाडौँ महानगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई स्वागत गर्ने र नगर्ने पक्ष आमनेसामने भइरहेका छन्। 

विवादकै बीच महानगर कार्यालय प्रवेश गरेका गुरागाईंलाई उपमेयर सुनिता ढंगोलसहित वडाअध्यक्ष र कर्मचारीले स्वागत गरे। तर, उनलाई सहजै कार्यकक्षमा प्रवेश दिइएन। उनलाई रोक्नलाई महानगरप्रमुख बालेन्द्र शाह (बालेन)ले बिहीबार बिहानैदेखि महानगर प्रहरी खटाएका थिए। बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीलाई गुरागाईंलाई कार्यकक्षमा प्रवेश नदिन निर्देशन दिएका थिए। 

महानर प्रहरीले गुरागाईंलाई छेकेपछि सीसाको ढोका फुटाएरै प्रवेश गराइएयो। त्यसअघि उपप्रमुख डंगोलको अध्यक्षतामा गुरागाईं, वडाअध्यक्षहरूसहितको बैठक बसेको थियो। बैठक बस्नुअघि महानगर प्रहरी प्रमुख पाण्डेलाई उपप्रमुख सुनिता डंगोलले झपारेकी थिइन्।

पाण्डेलाई उनले भनिन्, 'तपाईंले लिखित आदेशमा ताला लगाउनु भएको हो कि मौखिक?'

जवाफमा पाण्डेले भने,'मौखिक आदेशमा ताला लगाइएको हो।'

पाण्डेले यस्तो जवाफ दिएपछि कर्मचारीहरू थप आक्रोशित बनेका थिए। त्यसपछि कर्मचारीहरूले गुरागाईँलाई लिएर कार्यकक्षमा प्रवेश गराएका थिए।  त्यसपछि उनले हाजिर गरे। 

गुरागाईँ ३ महिना १४ दिनपछि आज कार्यालय पुगेका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै एक महिनाअघि पत्र पठाएको थियो। 

कार्यालय प्रवेश गरेपछि पनि उनी कार्यकक्षमा प्रवेश गर्न खोज्दा मेयर बालेन शाहले कार्यकक्षमै चाबी लगाएर सम्पर्कविहीन भएको आरोप कर्मचारीहरूले लगाएका थिए।  

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरले नै कार्यकक्षमा प्रवेश गर्न रोक लागाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनीता डंगोल, वडाध्यक्षहरू सबै बैठक बसेका थिए।

अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले प्रमुख शाहको चर्को आलोचना गरिन्।

‘कसैको मनमुटाव होला। जनप्रतिनिधि भएकाले हामी आम नागरिकको सेवामा तल्लीन हुनुपर्छ,’ उनले भनिन्,‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अघिकृत हाजिर गर्न आउनुभएको छ।उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन। कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन।’

उनले यस्तो मनमुटाव संस्थाभित्र हुन नहुने भन्दै प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको धारणा पनि राखिन्। 

बालेनले लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएका कारण कर्मचारीहरूको नियमित तलबसमेत रोकिएको थियो। त्यसबाट कर्मचारीहरू असन्तुष्ट बनेका थिए। गुरागाईँ कार्यालय पुग्दा केही कर्मचारीहरूले बालेनविरुद्ध नाराबाजी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad