तीनकुनेमा चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनमा प्रत्यक्ष संलग्न भन्दै प्रहरीले सांसद डा. धवलशमशेर राणालाई पक्राउ गरेको छ। राणा संसदको पाँचौँ ठूलो दल राप्रपाका महामन्त्री समेत हुन्।
यसको जानकारी संसद् सचिवालयलाई प्रहरीले दिएसँगै आइतबार जानकारीपत्र दर्ता भइसकेको छ भने सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुलाई समेत यसबारे जानकारी गराएका छन्।
आइतबारकै बैठकमा जानकारी गराउने भने पनि बैठक सुरु हुनै सकेन। सोही कारण सोमबार मात्रै सांसदहरुले यसको औपचारिक जानकारी पाए।
चौथो दिन कुलमान घिसिङ बर्खास्तीलाई लिएर प्रतिपक्षी दलहरुबाट भइरहेको अवरोध हटेपछि सोमबार बैठक बसेको हो। यसको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओली रोस्ट्रममा उभिएर आफ्नो थाइल्यान्ड भ्रमणको जानकारी गराए। त्यसपछि संसद बैठक चैत १५ को हिंसात्मक राजावादी प्रदर्शनमा केन्द्रित भयो।
केही बेरको राप्रपा र नेकपा एमाले सांसदको होहल्ला साम्य भएपछि सांसदहरुले बोल्ने समय पाए। विशेष समय पाउनेमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि थिए।
सभामुख देवराज घिमिरेले उनलाई ४ मिनेटको समय दिएका थिए। लिङ्देनले ‘बेलायतमा राजतन्त्र फर्किएको इतिहासदेखि गणतन्त्रमा लुट मच्चाएको कुरा ४ मिनेट ५७ सेकेण्डमा राख्न भ्याए। नाम नलिईकन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसप्रति कटाक्ष पनि गरे।
तर, लिङ्देनले प्रहरी हतकडीमा रहेका आफ्नै दलका महामन्त्री एवं सांसदबारे मुख फोरेनन्। जब कि उनकै दलले पत्रकार सम्मेलन गरी सरकारलाई रिहा गर्न अघिल्लो दिन मात्र २४ घण्टे ‘अल्टिमेटम’ दिएको थियो।
तीनकुनेको हिंसात्मक प्रदर्शनको नेतृत्व गरेको भन्दै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा जिल्ला प्रहरी परिसर काठमाडौँमा रहँदा समेत उनीहरुबारे संसदमा एक शब्द उच्चारण नगर्नुलाई आश्चर्यजनक मानिएको छ।
आइतबार मात्र उनीहरूलाई थप पाँच दिन थुनामा राख्न म्याद थप भएको छ।

किन बोलेनन्?
यसको जवाफ खोज्नुअघि लिङ्देनले ४ मिनेट ५७ सेकेण्ड के बोलेका थिए हेरौँ–
‘चैत १५ गते भएको घटनाप्रति दुःख व्यक्त गर्दछु’, उनले सुरु गरे, ‘(उक्त घटनामा) सहादत प्राप्त गर्ने पत्रकार सुरेश रजक र सविन महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु।’
लिङ्देनले त्यसपछि उनीहरुलाई सहिद घोषणाको माग गरे।
‘कथा, शब्दजालले अहिलेको पुस्ता मान्नेवाला छैन। तपाईँको मिथ्यांकले, मिथ्या इतिहासले अहिलेको पुस्ता पत्याउनेवाला छैन’, उनले भने, ‘अहिलेको डिजिटल युग, सूचना प्रविधिको विकासले युवा राम्रैसँग परिचित छ, तपाईँले राजा किन हटाउन खोज्नुभएको रहेछ।’
उनले बोल्नुअघि अन्य सत्तारुढलगायतका सांसदबाट घटनाबारे टिप्पणी भइसकेको थियो। नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले त दुई जनाको निधनमा एक शब्द नखर्चेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका थिए।
यो माहोलबीच लिङ्देनले गणतन्त्रप्रतिको असन्तुष्टि पोख्नथाले।
‘राजा हटाएपछि नारायणहिटीमा तुरुन्तै व्यापार गर्न कसले खोज्यो?’, उनको प्रश्न थियो, ‘केका लागि तपाईँले राजा हटाउनुभयो, त्यो युवा पुस्ताले हेरिराखेको छ।’
राजा हटाएर देशमा लोकतन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउन खोजिराखेको आफूले बुझेको उनको भनाइ थियो।
गणतन्त्रवादीहरुले लगाएका आरोपलाई ‘कीर्ते कुरा’ भनेका उनले अहिलेको र अब आउने पुस्ताले यसलाई नमान्ने बताए। त्यसपछि उनले विषयान्तर गरे।

‘राष्ट्रिय ऋण ८ वर्षमा २६ खर्ब पुगेको छ। हामी हाम्रो जीवनकै बेसी कर तिरिरहेका छौँ, यो दशक। त्यसमध्ये कति विकासमा गयो, त्यो पैसा? र, कति तपाईँको पेट भर्नमा गयो भन्ने कुरा तपाईँले गणतन्त्रको नाममा आकाशमा उडाउन नमिल्ने प्लेन किनेर खानुभएको कमिसन, तपाईँले प्लेन बसाउन नमिल्ने एयरपोर्ट बनाएको कुरा (अहिलेको पुस्ताले) राम्ररी हेरेको छ’, उनले भने, ‘तपाईँले नेपाली युवालाई भुटानी शरणार्थी बनाएर बेचेर आफ्नो व्यापार चलाउन खोजेको कुरा हेरिरहेको छ। तपाईँले जबसम्म आफ्नो व्यवहारमा सुधार गर्नुहुन्न गणतन्त्रको विरोध चलिराख्छ मात्र होइन, जनताले उल्टाउँछन्।’
उनले बेलायतमा राजा फर्काइएको कुरा सुनाए।
‘तपाईँले इतिहास पढ्नुभएको छैन। बेलायतमा राजा निरङ्कुश भए भनेरै चाल्र्स प्रथमलाई काटेरै मारियो, फाँसी नै चढाइयो’, उनले संसदमा भने। (१६४९ जनवरी ३० मा ह्वाइलहल भन्ने ठाउँको वैंक्वेटिङ हलको बाहिर टाउको काटिएको हो।)
उनले गणतन्त्रवादीको अहिलेको जस्तै व्यवहार त्यहाँ भएपछि जनताले १२ वर्षमा ११ वर्ष नपुग्दै विदेशमा बसेको राजाको छोरा (चार्ल्स द्वितीय)लाई राजगद्दीमा बसाएको उल्लेख गरे।
‘गणतन्त्रको नायक हुँ भन्ने थोमस क्रमवेललाई चिहानबाट खोतलेर निकालेर उसको अस्थिपञ्जरलाई फाँसीमा चढाएका थिए’, उनले बेलायतको उक्त घटना सुनाउँदै थपे, ‘त्यसकारण जनताले चाह्यो भने, यो गणतन्त्र जान्छ।’
लिङ्देनले जनताको शक्ति, युवाको शक्तिलाई नहोच्याउन चेतावनी दिँदै चैत १५ मा फर्किए।
‘ए, अस्तिको चैत १५ गते आन्दोलनकारीले मात्र ज्यादती गरेको हो? त्यो नियन्त्रण गर्ने जिम्मा सरकारको होइन?’, उनको प्रश्न थियो, ‘तपाईँ कांग्रेस–एमाले भन्नेहरू आज यो सत्तामा भजन कीर्तन गाउँदै, मादल बजाउँदै आइपुगेको हो? तपाईँहरू तोडफोड नगरी आएको हो? मान्छे नमारी आएको हो?’
उनी बोलिरहन्छन् तर सभामुखले निर्धारित समय सकिएको जानकारी गराउँछन्।
उनी रोकिदैँनन्, ‘त्यसकारण म भन्छु कि– त्यो सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो? छतमाथि बसेर मञ्चमा किन म्याद सकिएको अश्रुग्यास बर्साइयो? किन माथिबाट गोली हानियो? त्यसको जवाफ चाहिन्छ।’
त्यसबारे सरकार र सबै विश्वसमुदाय, मानवअधिकारजगतको ध्यानाकर्षण गराउन चाहेको उनले बताए।
चैत १५ को घटनाबारे न्यायिक छानबिन आयोग गठन गर्न माग गर्दै उनले दोषीहरूलाई कारबाही हुनुपर्ने बताए।
लिङ्देनले यति धेरै बोलिरहँदा कतै पनि आफ्ना नेताहरू पक्राउ परेको विषय उठाएका छैनन्।
राजावादी प्रदर्शनको नाममा तीनकुनेमा आततायी घटना घटाइएको भन्दै चौतर्फी विरोध भइरहेको छ।

सो प्रदर्शनमा मिश्र र राणा भीडलाई उक्साइरहेको, उत्तेजित बनाइरहेको भिडियोमै देख्न सकिन्छ। त्यसपछि नै उद्दण्ड जत्थाले हिंसा मच्चाएको थियो।
त्यसमा दुई जनाले अनाहकमा ज्यान गुमाए। तीनकुनेको एउटा घर, ४१ वटा गाडीमा आगजनी भयो। निजी र सरकारी करोडौंको सम्पत्तिमा क्षति पुग्यो।
अराजक प्रदर्शनको नेतृत्वकर्ता दुर्गा प्रसाईँले त प्रहरीको भीडतिर गाडी नै कुदाएको भिडियोमा देखिन्छ। यसको व्यापक विरोध भएपछि प्रहरीले शुक्रबार नै अर्का नेता रवीन्द्र मिश्र, सांसद राणासहित ४१ जनालाई पक्राउ गरेको थियो।
तर आश्चर्यजनक रुपमा सोमबारको संसद् बैठकमा न प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले पक्राउ परेका नेताको रिहाइ मागे, न त लिङ्देनले नै उनीहरुबारे मुख खोले। बरु शाहीले प्रधानमन्त्रीले अमर्यादित शब्द बोलेको भन्दै फिर्ता लिन नियमापत्ति जनाए।
किन आफ्ना पक्राउ परेका नेताबारे संसदमा नबोलेको भन्ने प्रश्नमा राप्रपाका उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङ समय नपुगेको बताउँछन्।
सोही कारण नेता पक्राउको विषय उठाउन नपाएको उनको दाबी छ।
‘राजेन्द्र लिङ्देनले बोल्न थोरै समय पाउनुभयो। नेता पक्राउको विषय उठाउने भनेर लिस्टमै थियो तर भ्याइएन’, उनले नेपालखबरसँग भने, ‘टाइमभित्र भ्याउनु पनि पर्यो। उनीहरूलाई जवाफ दिनु पनि पर्यो। टाइमै नभएपछि त के गर्ने?’
यद्यपि आफ्नै नेताबारे संसदमा नबोल्नुलाई अर्थपूर्ण मानिएको छ।
Shares

प्रतिक्रिया