राजनीति


ज्ञानेन्द्र शाह विदेश भाग्दैनन्: सगुन लावती

ज्ञानेन्द्र शाह विदेश भाग्दैनन्: सगुन लावती

फाइल तस्बिर: ज्ञानेन्द्र शाह


नेपालखबर
चैत १७, २०८१ आइतबार १०:५७, काठमाडौँ

चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकारसहित २ जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको भन्दै सरकारले उनीविरुद्ध निगरानी बढाएको छ। 

यस क्रममा सरकारले शाहको सुरक्षामा खटिएको टोली परिवर्तन गर्दै सुरक्षाकर्मीको संख्या पनि घटाएको छ।

शुक्रबार मध्यराति शाहको सुरक्षामा खटिएको २६ जनालाई फिर्ता बोलाएर नयाँ १६ जना पठाइएको सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।

यसैगरी सरकारले पूर्वराजा शाहलाई विदेश जानबाट रोक्न भनी राहदानी रद्द गर्ने तयारी थालेको खबर पनि सार्वजनिक भइरहेको छ।

यसैबीच उनलाई सरकारले अघोषित नजबरन्दमा राखिसकेको चर्चा पनि चल्न थालेको छ। 

यस विषयमा नेपालखबरले आइतबार बिहान राप्रपाका प्रवक्ता सगुनसुन्दर लावतीसँग जिज्ञासा राखेको छ। 

जवाफमा उनले आफूले पनि मिडियाबाट सुनेको तर अहिलेसम्म आधिकारिक जानकारी आइनसकेको बताए। 

‘मैले पढेँ न्युजमा, अब यसैलाई आधिकारिक मान्ने कि? सरकारले नोटिस निकाल्नुपर्ने? सरकारले उहाँहरूलाई पत्र दिनुपर्ने, त्यस्तो गरेको छैन। प्रोपोगन्डा हो कि साँच्चै हो, मलाई थाहा भएन’, उनले भने।  

राजसंस्था पुनःस्थापना गर्ने आन्दोलनका लागि गठित संयुक्त जनपरिचालन समितिका संयोजक नवराज सुवेदीलाई भने घटनाकै दिन चैत १५ देखि सरकारले घरमै नजरबन्दमा राखेको उनले बताए। ‘नवराज सुवेदीलाई अस्तिबाट हाउस अरेस्ट गरिएको छ, उहाँले विज्ञप्ति पनि जारी गरिसक्नुभएको छ।’

यस क्रममा उनले पूर्वराजा शाह विदेश भाग्छन् भनेर सरकारले उनको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाउनु ठीक नभएको टिप्पणी पनि गरे।  

‘विदेश भाग्न लाग्या भनेर राहदानी रद्दको प्रक्रिया अघि बढाएको भन्ने पनि रहेछ, त्योचाहिँ मिलेन। उहाँ श्रीपेच छाडेर, नासो जिम्मा लगाएर त नेपालमै बस्नुभयो भने? त्यो तर्कचाहिँ सरकारको मिलेन’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad