राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
बैठक आज दिउँसो ३ बजे बस्ने गरी राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बोलाइएको हो।
वर्तमान परिस्थितिबारे समीक्षा र पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको राप्रपाका एक नेताले जानकारी दिए।
शुक्रबार तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा भएको प्रदर्शनका क्रममा हत्या, लुटपाट, आगजनी र तोडफोड भएका थिए।
सो घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
यहीबीच राप्रपाले कार्यसम्पादन समितिको बैठक राख्न लागेको हो।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरे पनि मिश्र र राणा भने पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' मै सक्रिय छन्।
शुक्रबार तीनकुनेमा त्यही समितिले प्रदर्शन आयोजना गरेको थियो भने त्यसको नेतृत्व दुर्गा प्रसाईंले गरेका थिए।
राप्रपाले भने यही चैत २६ गते काठमाडौँमा प्रदर्शन गर्ने निर्णय गरेको छ।
Shares

प्रतिक्रिया