राजनीति


तीनकुने घटनाका दोषीलाई कारबाही गर्न कमल थापाको माग

‘कुनै पनि बहानामा हुने हिंसा र अराजक गतिविधि समर्थन गर्न सकिन्न’
तीनकुने घटनाका दोषीलाई कारबाही गर्न कमल थापाको माग

नेपालखबर
चैत १६, २०८१ शनिबार १२:२०, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत १५ गते शुक्रबार काठमाडौँमा राजावादीले गरेको प्रदर्शनका क्रममा भएका हिंसा र र अराजक गतिविधिको विरोध गरेका छन्। 

राजसंस्था पुन:स्थापनाका लागि आन्दोलनका नाममा शुक्रबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएका आक्रमण र आगजनीमा करोडौँको धनमाल क्षतिका साथै पत्रकारसहित २ जनाको ज्यानसमेत गएको छ।

उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न राप्रपा नेपालका अध्यक्ष थापाले माग गरेका छन्। 

‘चैत १५ गते काठमाडौँमा प्रदर्शनको क्रममा भएका अप्रिय घटनाहरू दुःखद छन्। कुनै पनि बहानामा हुने हिंसा र अराजक गतिविधि समर्थन गर्न सकिन्न’, थापाले सामाजिक सञ्जालमा वक्तव्य जारी गरी भनेका छन्, ‘प्रहरीको गोलीबाट सविन महर्जनको निधन हुनु र प्रदर्शनकारीहरूले आगो लगाई दिएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु हुनु जघन्य अपराध हुन्। यो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीलाई कारबाही गर्नैपर्छ।’

तर हिजोको घटनाका सन्दर्भमा केही गम्भीर प्रश्न रहेको पनि थापाले उल्लेख गरेका छन्। 

अध्यक्ष थापाले प्रहरीले निजी घरमा पसेर जुलुसमा अन्धाधुन्ध अश्रुग्यास प्रहार गरेको, कार्यक्रम सुरु हुनुअगावै मञ्चमा अश्रुग्यास प्रहार गरेको, सामान्य झडप हुँदा किन अनावश्यक बल प्रयोग गरेर भीडलाई उत्तेजित बनाउने काम गरेको आरोप लगाएका छन्।

यस्तै थापाले हिजोको घटनालाई अतिरञ्जित बनाएर प्रतिशोध साँध्ने वा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई तुहाउने प्रयास नगर्न चेतावनी पनि दिएका छन्। 

उनले भनेका छन्, ‘यही घटनालाई जोडेर अथवा यही मौका हो भन्ने ठानेर राजा वा राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई बदनाम गर्ने वा दमन गर्ने सोच राखियो भने त्यसले परिस्थितिलाई झन जटिल बनाउने छ।’

उनले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका पक्षमा आगामी दिनमा शान्तिपूर्ण ढंगबाट अघि बढ्ने जानकारी पनि दिएका छन्। 

उनले भनेका छन्, ‘हिजोको घटनाबाट पाठ सिकेर राष्ट्रवादी आन्दोलनलाई अझ सशक्त तुल्याउनु पर्दछ। हिन्दुराष्ट्र र राजसंस्था पक्षधरलाई कत्ति पनि विचलित नहुन म आह्वान गर्दछु।’ 

यस क्रममा अध्यक्ष थापाले हिजो भएका हिंसा, अराजक वा अपराधिक कुनै पनि घटनामा धवल शमशेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाललगायत नेता संलग्न नरहेको दाबी गर्दै थापाले उनीहरूलाई तत्काल रिहा गर्न माग पनि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad