नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई अभिमुखीकरण तालिम दिएको छ।
सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसद्का दुवै सदनका सांसदलाई शुक्रबार तालिम दिइएको नेकपा नेता एवं सांसद वर्षमान पुन अनन्तले जानकारी दिए।
एक दिवसीय कार्यशाला नाम दिइएको प्रशिक्षण कार्यक्रम काठमाडौँको स्वयम्भूस्थित एक होटलमा आयोजना गरिएको थियो।
कार्यशालामा नेकपाका नेता डा. बेदुराम भुसाल, वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, संविधानविद् एवं संविधानसभा सदस्य खिमलाल देवकोटा र राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयालले सहभागीहरूलाई प्रशिक्षण दिए।
कार्यशालामा पूर्वसचिव फुयालले संसदीय अभ्यास, संसदीय कार्यप्रक्रिया र संसद् नियमावली, देवकोटाले संविधान र संसद्, भुसालले विधेयकको उत्पत्ति, निर्माण, विधेयक पेस गर्ने प्रक्रिया तथा संशोधनदेखि विधेयक पारित भएर कानून बन्दासम्मको प्रक्रिया र बिडारीले प्रत्यायोजित विधायनका विषयमा प्रस्तुति दिएका थिए।
सांसदहरूको क्षमता वृद्धि तथा संसद्मा प्रभावकारी भूमिका बढाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेकपाले जनाएको छ। संसद्मा नेकपाका ३४ सांसद छन्।
Shares

प्रतिक्रिया