राजनीति


राज्यले व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैन: माधव नेपाल

राज्यले व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैन: माधव नेपाल

नेपालखबर
जेठ २३, २०८३ शनिबार १६:१९, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले सरकार रोजगारी सिर्जना, उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुनुपर्ने बताएका छन्। 

शनिबार नेपाल सुनचाँदी कला व्यवसायी संघको २४औँ वार्षिक साधारणसभा बोल्दै सहसंयोजक नेपालले लगानीमैत्री वातावरण बनाउन राज्यले ध्यान दिनुपर्ने बताएका हुन्। राज्यको प्रमुख दायित्व रोजगारीका अवसर सिर्जना गर्नु र निजी क्षेत्रलाई फस्टाउन अनुकूल वातावरण बनाउनु रहेको बताए। 

‘राज्यले रोजगारी सिर्जना गर्ने हो। रोजगारीका जुन-जुन सम्भावनाहरू छन्, त्यसलाई प्रोत्साहित गर्ने हो। व्यवसायहरूलाई फस्टाउनका लागि जसरी गर्न सकिन्छ, त्यसको निम्ति राज्य लचिलो हुनुपर्ने पनि हो,’ नेपालले भने, ‘राज्यले कुनै पनि व्यवसायमा प्रतिकूल असर नपरोस्, त्यसको विकासमा बाधा उत्पन्न नहोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ।’

उद्योग तथा व्यवसायमा प्रतिकुल असर पर्नेगरि राज्यले कुनै नीतिहरू लिन नहुने उनको भनाई छ। उनले उद्योग व्यवसायको प्रोत्साहन हुन नसक्दा देशभित्र रोजगारी नपाएर युवा वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य भएको बताए। 

‘तपाईं हामी सबैलाई थाहा छ, रोजगारी नपाएर मानिसहरू संसारमा भौँतारिने गरेका छन्। देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर चाहर्ने स्थिति बनिरहेको छ। रोजगारी प्रवर्द्धन गर्ने क्षेत्रहरु के-के छन्, ती सबै क्षेत्रहरूको राज्यले राम्रो लेखा गर्नुपर्दछ,’ उनले भने।

आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी बनाउन सरकार स्पष्ट रणनीतिका साथ अघि बढ्न नसकेको उनको आरोप छ। स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत आर्थिक सुदृढीकरण सम्भव भएपनि सरकारको त्यसतर्फ पर्याप्त ध्यान पुग्न नसकेको बताए।

‘जति धेरै आयात रोक्न सके, आफ्नै देशमा उत्पादन गर्नसके, उत्पादन धेरै गरिसकेपछि यहाँ उपभोग गर्ने मात्र होइन, विदेशमा निर्यात गर्नसके, यो आयात केन्द्रित हाम्रो अर्थतन्त्र निर्यात मुखी हुने स्थिति बन्न सक्थ्यो,’ नेपालले भने। 

नेपालमा विशेषगरी औषधि उद्योग संकटमा परेको बताए। करिब १५० बढी औषधि उद्योग बन्द हुने अवस्था रहेको उनको भनाइ थियो। यस विषयमा संसद्, राजनीतिक दल र सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा उनले जोड दिए। 

सरकारले निजी क्षेत्रका गुनासा सुन्ने, नियमित संवाद गर्ने र नीतिगत सुधारमार्फत उद्योग व्यवसायलाई संरक्षण गर्ने वातावरण बनाउनुपर्ने उनले बताए। कृषि, जलविद्युत् र खनिज स्रोतको विकास आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्नुहुँदै उनले उत्पादन, रोजगारी र आम्दानी वृद्धि भएमा उपभोग तथा व्यापार स्वतः विस्तार हुने बताए। 

सिमेन्ट उद्योगलगायत विभिन्न उत्पादनमूलक क्षेत्र संकटमा परेको उल्लेख गर्दै प्राकृतिक स्रोत-साधनले सम्पन्न नेपालले खनिज, कृषि र ऊर्जा क्षेत्रमा आधारित औद्योगिक विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। 

उनले सुनचाँदी लगायतका वस्तुमा हुने अवैध कारोबार नियन्त्रण गर्नुपर्नेमा पनि जोड दिए। वैध व्यापार र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad