राजनीति


माओवादी केन्द्रीय कार्यालय पुगेर गृहमन्त्री लेखकले भने: एकाकार भई प्रतिवाद गर्नुपर्छ

माओवादी केन्द्रीय कार्यालय पुगेर गृहमन्त्री लेखकले भने: एकाकार भई प्रतिवाद गर्नुपर्छ

शनिबार बिहान माओवादी केन्द्रीय कार्यालयमा उपाध्यक्ष अग्नि सापकोटासँग कुरा गर्दै गृहमन्त्री रमेश लेखक।


नेपालखबर
चैत १६, २०८१ शनिबार १३:१२, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले शनिबार पेरिसडाँडा पुगेर नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय अवलोकन गरेका छन्।

यस क्रममा कांग्रेस नेतासमेत रहेका गृहमन्त्री लेखकले माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकाटोबाट पार्टी कार्यालयको अवस्थाबारे जानकारी लिए। 

शुक्रबार तीनकुने क्षेत्रमा आन्दोलनका नाममा राजावादीले घर, कार्यालय, गाडी, उद्योगमा तोडफोड र आगजनी गरेका थिए।

उनीहरूको आक्रमणले तीनकुने क्षेत्रका दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ। 

त्यसबेला प्रहरीले भीड तितरबितर पारेपछि भागेका राजावादी जत्था माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा समेत पुगेको थियो।

तर प्रहरी तैनाथ भएकाले क्षति भने गर्न पाएनन्। यद्यपि उदण्ड जत्थाले प्रहरीको भ्यान भने जलाइदियो। 

शनिबार बिहान राजावादीले विध्वंस मच्चाएको तीनकुने क्षेत्र अवलोकन गरेपश्चात् गृहमन्त्री लेखक सहित माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका हुन्।

पार्टी कार्यालय अवलोकनका क्रममा गृहमन्त्री लेखकले उदण्डता र अराजकता स्वीकार गर्न नसकिने बताएको माओवादीका केन्द्रीय सदस्य एवं उपत्यका विशेष प्रदेश समितिका सहसंयोजक रमेश मल्लले जानकारी दिए। 

‘संघीय लोकतान्त्रिक गणतन्त्रभित्र आपसी प्रतिस्पर्धा हुन्छ, जनताको अभिमतअनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ। यो स्वाभाविक कुरा हो,’ लेखकको भनाइ उद्धृत गर्दै मल्लले नेपालखबरसँग भने, ‘तर जब व्यवस्थाविरुद्ध कसैले उदण्डता प्रदर्शन गर्दछ भने त्यसको एकाकार भई प्रतिवाद गर्नुपर्छ।’

गृहमन्त्री लेखकले अराजक राजावादीले आगजनी र तोडफोड गरेर क्षतिग्रस्त पारेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय समेत अवलोकन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad