नेपालमा बसेर मिलियन डलरका विदेशी कम्पनीलाई आफ्नो उत्पादन बेच्ने र आम्दानी गर्ने रहर कसलाई नहोला! त्यसमाथि सयौँ नेपाली युवालाई रोजगारी दिनसक्नु पक्कै पनि गर्वको कुरा हो। यही काम गरिरहेका छन् आईटी उद्यमी सन्दीप आचार्यले।
देश आयातमुखी भयो, उत्पादन बढेन, रेमिटेन्सबाहेक अन्य कुनै दर्बिलो आम्दानीको बाटो भएन भनेर चिन्ता भइरहेको अहिलेको कालखण्डमा आईटी क्षेत्रले भने नेपालमा विदेशी कम्पनीलाई आफ्ना उत्पादन बिक्री गरेर अमेरिकी डलर भित्र्याइरहेको छ। आचार्यको कम्पनी अकोर नेपालले गुणस्तरीय इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) सफ्टवेयर मुख्यतः अमेरिका निर्यात गरिरहेको छ।
सन्दीप पोखरामा जन्मिए। पाँच वर्षको हुँदा काठमाडौँ आए। ज्ञानोदय विद्यालयमा पढिरहेका उनी पछि देशकै प्रख्यात बुढानीलकण्ठ स्कुल पढे। एसएलसी उत्तीर्ण गरेपछि उनले आईएससी काठमाडौँ विश्वविद्यालयबाट गरे। उनी केयूको पहिलो ब्याची हुन्। आईएससी सकेपछि नै उनी सन् १९९४ मा अमेरिका हानिएका थिए।
तीन दशकअघि पढ्न अमेरिका पुगेका सन्दीप हाल नेपालमै बसेर त्यहाँका ग्राहकहरूलाई चाहिने सफ्टवेयर बनाएर निर्यात गरिरहेका छन्।
सन्दीपको परिवार पहिलेदेखि नै उद्योगमा सक्रिय थियो। उनका बुवा कृष्ण आचार्य प्रसिद्ध रारा चाउचाउ उत्पादन गर्ने गण्डकी नुडल्सका संस्थापक हुन्। बुवाको यही व्यापारिक धरातललाई भरथेग गर्ने सपना बोकेर सन्दीप अमेरिकामा ‘फुड टेक्नोलोजी’ पढ्न गएका थिए। तर, पहिलो सेमेस्टरमै सन्दीपलाई लाग्यो– अबको जमानामा फुड टेक्नोलोजी मात्रै पढेर हुँदैन। त्यसपछि उनले आफ्नो ‘मेजर’ विषय परिवर्तन गरे।
प्राविधिक विषय त विज्ञलाई जागिर दिएर पूर्ति गर्न सकिन्छ, व्यापारको गहिरो व्यावहारिक अनुभव हासिल गर्नुपर्छ भन्ने मान्यताकै कारण सन्दीपले फुड टेक्नोलोजी हापेर मार्केटिङ विषयलाई मेजर बनाए। उनी यत्तिकैमा रोकिएनन्। कम्प्युटर इन्फरमेसन सिस्टम्स पनि पढे। उनले अमेरिकाको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीबाट मार्केटिङ/इन्फरमेसन सिस्टम्स् (सन् १९९४–१९९९) मा स्नातक गरे।

जागिर छाडेर व्यवसाय
स्नातक उत्तीर्ण भएपछि सन्दीपले सफ्टवेयर कम्पनीमा जागिर पाए। अचम्मको कुरो, सन् १९९९ मा उनलाई रोजगारी दिने टेम्पवर्क्स सफ्टवेयर नामको कम्पनीले जे काम गर्थ्यो, अहिले सन्दीपको अकोर नेपालले गर्ने काम पनि उही हो।
‘त्यो कम्पनीले जे गर्थ्यो, अहिले मैले त्यही काम गरिरहेको छु। मेरो पहिलो जागिरे जीवन यही थियो। मलाई आजको दिनमा यहाँसम्म पुर्याउन त्यो कम्पनीको ठूलो हात छ। म त्यो कम्पनीको नवौँ कर्मचारी थिएँ। सानै थियो कम्पनी, तर बढ्दै थियो। आफ्नो भूमिका बनाउन सजिलो भयो। करिब ६ वर्ष मैले त्यहाँ काम गरेँ,’ सन्दीपले सम्झिए।
इन्ट्री लेभलमा सपोर्टको पदबाट जागिर सुरु गरेका उनी डिरेक्टर अफ अपरेसन्ससम्म बने। डेढ सय जनाको कम्पनी बनिसकेको थियो। उनी दोस्रो तहको उच्च व्यवस्थापक रहँदै प्रमुख कार्यकारी अधिकृतलाई रिपोर्टिङ गर्थे। आफूले सुरुमै ह्वाइट कलर जब नपाएको भन्दै सन्दीपले दुःख गरेरै सफ्टवेयर कम्पनीमा जागिरे बनेको बताए। त्यो समयमा धेरै नेपाली अमेरिका पुग्दैनथे।
‘भाँडा माझ्ने, फ्याक्ट्रीमा काम गर्नेदेखि सबै गरियो। व्यावसायिक हिसाबले कलेजबाट ग्य्राजुएट भएपछि पढाइ अनुसार काम गर्न थालेँ। इन्ट्री लेभलमा काम गर्ने भएपछि थरीथरीका समस्या मसम्म आउँथ्यो। त्यसलाई जसरी पनि समाधान गरिन्थ्यो। केही पनि समस्या आयो भने मैले नसल्टाइ हुँदैन भन्ने अवस्थासम्म पुग्यो। अरुले भाग लगाएर काम गर्थे। म चाहिँ मेरोमा आएपछि मैले नै जसरी पनि समाधान गर्नैपर्छ भन्ने मान्यता राख्थेँ। त्यही स्वभावका कारण कम्पनीमा माथिमाथि चढ्दै गएँ,’ उनले भने।
बुवाले उनलाई सानैदेखि आफ्नै केही गर्नुपर्छ भनेर सिकाएका थिए। अमेरिकाबाट नेपाल फर्किनै पर्छ भन्ने परिवारको चाहना थियो। सन्दीप पनि जागिर खाएरै बसिराख्ने पक्षमा थिएनन्। तर, फर्किहाल्न सकेका थिएनन्।
सन् २००५ तिर भने अब आफ्नै केही गर्नुपर्छ भन्ने निर्क्यौलमा उनी पुगे। आफूले जागिर खाइरहेकै कम्पनीका मालिकलाई भेटेर सन्दीपले भने, ‘मसँग एउटा बिजेनस आइडिया छ, यही कम्पनीको अर्को एउटा ब्रान्च बनाऔँ। त्यसमा मलाई स्वेट इक्विटी दिनुस्।’
टेम्पवर्क्स सफ्टवेयरका मालिकले सन्दीपको प्रस्ताव अनुसार आँट गरेनन्। उनी महत्त्वपूर्ण र प्रभाव जमाउने कर्मचारी भएकाले टेम्पवर्क्स सफ्टवेयरका मालिकले सन्दीपलाई जागिर नछोड्न भन्दै फकाउन बोनस चेक दिए। तर, उनी आफ्नै सुरु गर्नुपर्छ भन्नेमा स्पष्ट भइसकेका थिए।
टेम्पवर्क्स सफ्टवेयरमा काम गरिरहेका सन्दीपसहित चार जना मिलेर सन् २००६ मा आभियान्टे स्टाफिङ सफ्टवेयर सुरु गरे।

आभियान्टेको सफल उडान
पुरानो जागिर छोडेर आएका चार जनामध्ये सन्दीप व्यापारिक सोच राख्थे। अरु तीन जना प्राविधिक काममा पोख्त थिए। सन्दीपको निकै मिल्ने साथी समर बस्नेत सँगै थिए। त्यसबाहेक एक जना भियतनामी मूलका अमेरिकी र अर्का एक जना अमेरिकी उनीहरूको नयाँ साझेदार थिए।
तर, जागिर खाँदाको सहजता आफ्नै काम सुरु गरेपछि हराउन थाल्यो।
‘आँट त गरियो। खर्च चाहिन्छ, सिक्नुपर्यो, बनाउनुपर्यो। त्यति सजिलो त हुँदैन। सोच्न जति सजिलो छ, बनाउन त गाह्रो हुन्छ। हामी चार जनाले कम्तीमा दुई वर्षसम्म बेतलबी भएर काम गर्नुपर्यो। मेरो श्रीमती पनि अमेरिकामा काम गरिरहेकी थिइन्। म अर्को दुई वर्ष बेरोजगार हुन्छु, तिमीले मलाई पाल्नुपर्छ है भनेर काम सुरु गरियो,’ सन्दीपले भने, ‘नेपालमा त म वेल अफ फ्यामलीकै थिएँ। तर, अमेरिका पुगेपछि त गरिब नै भएँ। सबै आयव्यय आफैँ व्यवस्थापन गर्नुपर्थ्यो। पैसा नहुँदा कसरी बाँच्ने भन्ने यही परिस्थितिले सिकायो। आँट गर्न सिकायो।’
प्रतिव्यक्ति १० हजार डलर लगानी गरेर चार जनाले आभियान्टे थालेका थिए। तर, सोचेअनुरूप अघि बढ्न चार जनालाई अप्ठेरो पर्यो। आफूले मात्रै सकिँदैन कि भन्ने भएपछि अरु दुई जना नेपाली युवाले काममा सन्दीपहरूलाई सघाए। एक जनाले निःशुल्क डिजाइन गरिदिन्थे, अर्काले एकदमै कम पैसा लिएर काम गरिदिन्थे। जसले कम्पनीको खर्च जोगाइदियो। आभियान्टेले पहिलो ग्राहक पाउँदा सफ्टवेयर नै बनाएको थिएन। डिजाइन देखाएकै भरमा पहिलो ग्राहकले अग्रिम भुक्तानी दिए। आभियान्टेले भेटेको पहिलो ग्राहक सन्दीपले काम गर्ने टेम्पवर्क्स सफ्टवेयरको सबैभन्दा ठूलो क्लाइन्ट थिए।
भिडिओ :
‘टेम्पवर्क्स सफ्टवेयरको सबैभन्दा ठूलो क्लाइन्टले हामी त्यहाँबाट बाहिर निस्किएर आफैँ काम गर्छौं भन्दा पैसा दिएर ल बनाऊ भनेर सहयोग गरिदियो। समस्या पहिचान गरेर त्यसलाई समाधान गर्न सकिन्छ भनेपछि धेरै कुरा मिल्यो। भाग्यले पनि साथ दियो। हुन त मेहनतबिना भाग्यले मात्रै हुँदैन। त्यसपछि कम्पनी राम्रोसँग उभियो,’ सन्दीपले सम्झिए।
त्यतिबेलै सन् २००६ मा सन्दीपले नेपाल आएर यहाँबाट पनि काम थालिसकेका थिए। त्यो वर्षको जनवरीमा आभियान्टे सुरु भइसकेको थियो। सोही वर्षको नोभेम्बरदेखि नेपालमा ४–५ जनालाई जागिर दिएर काम थालेको थियो। यो टिमले नेपालका लागि भने सफ्टवेयर विकासमा काम गरेन। अमेरिकाकै काम गर्दागर्दै नेपालको टिममा ३५ जना र अमेरिकामा डेढ सय कर्मचारी पुगिसकेका थिए।
‘आभियान्टे एकदमै सफल कम्पनी बन्यो। अमेरिकाको फास्टेस्ट ग्रोइङ प्राइभेट कम्पनी भनेर सूची निस्किन्छ, इंक भन्ने म्यागजिनको। आभियान्टे त्यो लिस्टमा १२ चोटिसम्म पर्यो। हरेक वर्षजस्तो पर्यो,’ खुसी हुँदै सन्दीपले सुनाए।

यसैबिच आफ्नो पारिवारिक दायित्व सम्झिएर सन्दीपले यतिबिघ्न सफल व्यवसायबाट बाहिरिने निकै भारी निर्णय लिए। सन्दीप र उनकी श्रीमतीको समझदारी नै थियो– दोस्रो बच्चा भएपछि नेपाल फर्किने। आभियान्टे सुरु भएकै बखत सन्दीप दम्पतीले पहिलो सन्तानलाई जन्म दिएका थिए। सन् २०१३, जुनमा दोस्रो सन्तान जन्मियो। उनले आफ्नो टिमलाई आफू नेपाल फर्किने र यही कम्पनीकै नाममा त्यहाँ छुट्टै टिम बनाएर फरक प्रडक्टमा काम सुरु गर्ने योजना सुनाइसकेका थिए।
एउटा ब्रोकर आएर कम्पनी बिक्री गर्ने अफर राखेको थियो। प्रारम्भिक रूपमा कम्पनी छोड्ने सन्दीपको मनसाय थिएन। किन्न खोज्ने कम्पनीले ९० प्रतिशतभन्दा कम स्वामित्वमा आउँदिन भन्यो।
सन्दीपसहितको टिम ४०–५० प्रतिशत सेयर बेचेर नयाँ स्वामित्वबाट काम सिक्ने सोचमा थियो। सन् २०१४ को जनवरीमा त्यही कम्पनीको प्रस्तावलाई स्वीकार्दै सन्दीपहरू आभियान्टे सफ्टवेयरबाट औपचारिक रूपमा बाहिरिए र सन् २०१४, मार्चमा सन्दीप नेपाल फर्किए।
आभियान्टेको स्टेक बिक्री गर्दा पाँच वर्षसम्म ‘नन् कम्पिट’ सम्झौता भएको थियो। जसका कारण नेपाल फर्किएपछि पनि सन्दीपसहितका साझेदारलाई पुरानो कम्पनीले उत्पादन गरिरहेका प्रडक्ट बिक्री गर्न कानुनी र नैतिक बन्देज थियो। सन्दीपका साथी तथा साझेदार समर पनि नेपाल फर्किए।
सन्दीप र समरले नेपाल फर्किएपछि के काम गर्ने भन्नेबारे निधो गरिसकेका थिए। आफ्नो इक्विटी बिक्री गर्ने भएपछि उनीहरू दुवैले आफूले काम गरिरहेको कम्पनीमा रहेका कतिजना कर्मचारीलाई तान्ने भन्ने अड्कल पनि गरिसकेका थिए। अमेरिकी टिममा १५ जना नेपाली कार्यरत थिए। त्यसमध्ये सन्दीप र समरले नाम लिएका १० मध्ये ८ नेपाली परेका थिए।
‘कसलाई नयाँ कम्पनीमा लैजाने भन्ने हाइपोथेसिस थियो। कानुनी बन्धनमा भएकाले त्यो गर्ने अवस्था थिएन। १० जनामा ८ नेपाली परे। यसले हामीलाई नेपालीले काम गर्न सक्छन् भन्ने बलियो आधार दियो। जुनसुकै समस्या सल्टाउन नेपाली प्राविधिक योग्य छन् भन्ने अनुभूति दिलायो। नेपालीहरूको दिमाग खतरा हुने रहेछ, नेपाली एकदमै स्मार्ट मान्छे हुन् भन्ने भयो,’ सन्दीपले भने।

सन्दीप र समरको फ्युजनले जन्मियो अकोर नेपाल
सन्दीप र समर मिल्ने साथी। कलेजमा पनि साथी, काममा पनि साथी। दुवैको स्वभाव भने एकअर्कासँग फिटिक्कै नमिल्ने। व्यक्तित्व र सोच पनि फरक। तर, दुवैलाई एकैठाउँ मिसाउँदा जहिले पनि उत्कृष्ट परिणाम आउने बताउँछन् सन्दीप।
‘उसको र मेरोबिचमा यति फरक छ कि कहिलेकाहीँ सुरुमा उसले एउटा कुरा पिच गरिरहेको हुन्छ, मैले अर्को गर्छु। तर, अन्तिममा ऊ मेरो कुरामा आश्वस्त, म उसको कुरामा कन्भिन्स्ड भएर उल्टै झगडा पर्छ,’ सन्दीपले थपे, ‘समर र म नेपाल फर्किएपछि सँगै केही गर्ने भन्नेमा सहमत थियौँ। त्यतिबेला मेरो नेपालमै रहेका साथीहरूले एसियाली विकास बैंकको सहयोगमा काठमाडौँ महानगरपालिकालाई ईआरपी प्रोजेक्ट बनाएर दिने प्रस्ताव बनाइरहेका थिए। हाम्रो त अमेरिकामा कम्पनी थियो। त्यही कम्पनीलाई प्रयोग गरेर अन्तर्राष्ट्रिय कन्सल्टेन्ट बनेर आउन सक्ने अवस्था बन्यो। नेपाल आएपछि हामी यही परियोजनामा सहभागी भयौँ।’
उनीहरूले सन् २०१४ को मध्यदेखि २०१६ सम्म यही परियोजनामा काम गरेका थिए। तर, त्यो परियोजना विभिन्न कारणले असफल भयो। उनीहरू यो परियोजनामा सामेल हुनुको पछाडि कारण छ। स्थानीय तहमा बनाइएको सफ्टवेयरले अधिकांश जनता लाभान्वित हुने र त्यसले आफूहरूलाई नेपालमा स्थापित गर्न सहज हुने उनीहरूको आकलन थियो।
‘राम्रो सफ्टवेयर बनाइदियो भने त परिवर्तन ल्याउँछ। यही भित्री भावका कारण काम गरेका थियौँ। यही परियोजनमा काम गर्ने नेपाली साथीहरूलाई आफूहरूको आगामी काममा समावेश गराउने रणनीति थियो। यही टिमलाई ट्रेन गर्न सक्ने भयौँ नि त। त्यही भएर समर र म उत्साहित भएर लाग्यौँ। तर, नेपालको हकमा सफ्टवेयर कार्यान्वयन निकै जटिल हुने रहेछ भन्ने अनुभव सिक्यौँ। सफ्टवेयर बनाउन जति दुःख र मेहनत गर्यौँ, त्यतिबेलाको परिस्थितिमा सफ्टवेयरलाई स्वीकार्न त्यति नै कठिन थियो। जसका कारण कार्यान्वयन गर्न सकेनौँ,’ सन्दीपले सुनाए।

यो भोगाइपछि सन्दीप र समरले अमेरिकामा कहाँकहाँबाट कसरी बिजनेस ल्याउन सकिन्छ भनेर खोज्न थाले। त्यसपछि उनीहरूले पुराना क्लाइन्टहरूसँग भेटघाट गर्न थाले। ती क्लाइन्टहरूले भोगिरहेका समस्या सुनेर त्यहीअनुसारको प्रडक्ट निर्माणमा जुटेका थिए। त्यहीबेला क्लाइन्टहरूको समस्या उनीहरूले पहिचान गरे।
‘इम्प्लोइ र एप्लिकेन्ट अनबोर्डिङमा सबैभन्दा ठूलो समस्या भने। अनबोर्डिङ भनेको उनीहरूको ठूलो कम्पनी छ, अमेरिकाका हरेक राज्यमा मान्छेले काम गर्ने। काम गर्न अप्लाइ गर्यो, त्यहाँ विभिन्न कागजात जम्मा गर्नुपर्ने हुन्छ। अमेरिकामा कम्प्लायन्स अलि कडा छ। ती कागजात संकलन गरेर ढुवानी गर्नुपर्यो, त्यसपछि उनीहरूको सेन्ट्रलाइज्ड कार्यालयमा आउनुपर्यो। वर्षको ४–५ लाख डलर त यसैको लागि ढुवानी खर्च हुने रहेछ। उनीहरूले अनलाइनमा आधारित कर्मचारी अनबोर्डिङ सफ्टवेयर बनाउन मिल्दैन भनेर सोधेपछि पहिलोपटक यो प्रोजेक्ट गर्यौँ,’ सन्दीपले भने।
यो प्रणाली बनाएपछि कर्मचारी भर्तीदेखि नै सबै काम अनलाइन माध्यमबाट हुन थाल्यो। यो पहिलो प्रोजेक्टसँगै सन् २०१६ मध्येदेखि अकोर नेपाल सुरु भयो। यही परियोजनपछि अकोर नेपालले लगातार अमेरिकी क्लाइन्ट बटुल्न थाल्यो।
अकोरले अहिले १० भन्दा बढी सफ्टवेयर प्रडक्ट बिक्री गरिरहेको छ। तर, ती सबै ईआरपी सोलुसन नै हुन्।
‘एउटा स्टाफिङ कम्पनीको सुरुदेखि अन्तिमसम्म गर्नुपर्ने सबै काम सफ्टवेयरमार्फत गराउनु हाम्रो मुख्य काम हो। कर्मचारी ट्रयाक गर्नेदेखि सम्भावित कर्मचारीबारे यही सफ्टवेयरले काम गर्छ। पेरोलदेखि बिल काट्ने, पठाउने यही सफ्टवेयरबाट हुन्छ। हामीले जे बनाउँछौँ त्यही बेच्ने हो,’ सन्दीपले भने।

हाल अकोरले एआई वर्कफोर्स नामक एआई एजेन्ट्स नेपालमै निर्माण गरिरहेको छ। त्यो एजेन्ट्सले मान्छेको सट्टा सबै काम गर्न सक्छ।
‘कुनै कर्मचारी भर्ती गर्नुपर्यो र १०० जनाको फोन नम्बर हाल्यौँ भने त्यसले स्वचालित रूपमा त्यत्रा मान्छेहरूलाई फोन गरेर, ऊसँग कुरा गरेर, कुन पदका लागि को ठिक छ भन्नेसम्म गर्दिन सक्छ। त्यसैले संक्षिप्त रिपोर्ट दिन्छ,’ सन्दीपले सुनाए।
अकोर नेपालले हरेक तीन वर्षमा आफ्ना कर्मचारीहरूलाई विदेश भ्रमणमा पठाएर हौसला दिइरहेको छ। नेपालको मुख्य समस्या ‘ब्रेन ड्रेन’ रोक्न आफ्ना साथीभाइले बाँचेको जस्तै जीवनस्तर चलाउन पुग्नेगरी कम्पनीले विभिन्न प्याकेज दिइरहेको सन्दीपले जानकारी दिए।
हाल अकोरको नेपाल कार्यालयमा १२५ कर्मचारी छन् भने अमेरिकामा २५ जना कार्यरत छन्।
‘हामी काठमाडौँमा बसेर अमेरिकाको काम गर्न सक्छौँ भनेर आफ्नो टिमलाई हरदम हौसला दिइरहन्छु,’ उनी सुनाउँछन्, ‘मैले देखेकै जस्तो सपना सबैले देख्न सक्नुपर्छ भन्ने हो। त्यसमा मैले गाइडेन्स गर्छु।’
भिडिओ :
Shares

प्रतिक्रिया