राष्ट्रियसभा बैठक एक घण्टाका लागि स्थगित भएको छ। विपक्षीहरूले अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएपछि विपक्षीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेर अवरोध जारी राखेपछि सभा स्थगित भएको हो।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूलाई पटकपटक सभा सञ्चालनको वातावरण बनाउन आग्रह गरे पनि अवरोध जारी राखेपछि एक घण्टालाई सभा स्थगित भएको सूचना पढेर सुनाए।
सरकारले घिसिङलाई सोमबारको मन्त्रिपरिषद् बैठकबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। उक्त पदमा हितेन्द्रदेव शाक्य नियुक्त भइसकेका छन्।
सभा सञ्चालन भएलगत्तै विपक्षी दलले उठेर विरोध जनाए। त्यसपछि दाहालले नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसाललाई बोल्नका लागि समय उपलब्ध गराए। उनले यस विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सभा अघि बढ्न नसक्ने बताए।
'प्रधानमन्त्रीले यस विषयमा संसद्मा आएर जवाफ नदिई बाहिर सार्वजनिक कार्यक्रममा मैले जवाफ दिन आवश्यक छैन भन्नु भएको छ,' भुसालले भने, 'संसद्मा उठेका विषयलाई गम्भीर्यताका साथ नलिनु संविधान विपरीत छ। यो निर्णयका सन्दर्भमा प्रधानमन्त्रीले सम्बोधन नगरेसम्म सदन चल्दैन। नचलाइयोस्।'
अध्यक्ष दाहालले आजको बैठकमा पाँच वटा प्रतिस्थापन विधेयकको सन्दर्भमा छलफल गर्ने कार्यसूची रहेको सुनाउँदै बैठक सञ्चालनको निम्ति सहयोग गर्न आग्रह गरेका थिए।
Shares

प्रतिक्रिया