नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पनि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन्।
विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले यसको जवाफ नदिएसम्म संसद् चल्न नदिने अडान लिइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले पनि यसमा समर्थन जनाएका हुन्।
रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा कार्यकाल काम गर्न दिएर बिदा गर्ने बताए।
उनले भने, ‘म (प्रधानमन्त्री) भएको भए उनलाई चार महिनाको अवधि पूरा गरेपछि बिदाइ गर्थें, अहिल्यै उनलाई चलाउनु सही थिएन।’
यही चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त गर्दै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि सरकारको आलोचना भइरहेको छ।
पहिलो कार्यकाल सकिएपछि कुलमान २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए। कुलमानको दोस्रो कार्यकाल २०८२ साउन २४ गते सकिँदै थियो। तर सरकारले त्यसअघि नै उनलाई हटाएको हो।
Shares

प्रतिक्रिया