राजनीति


चार महिना पनि टिक्न सकिन्न भन्ने त्रासले सरकारले कुलमानलाई हटायो: शक्ति बस्नेत

चार महिना पनि टिक्न सकिन्न भन्ने त्रासले सरकारले कुलमानलाई हटायो: शक्ति बस्नेत

नेपालखबर
चैत १३, २०८१ बुधबार १२:२१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका सांसद शक्तिबहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्न सरकारमाथि स्वार्थ समूह हाबी भएको आरोप लगाएका छन्।  

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै बस्नेतले सरकार स्वास्थ्य समूहको हीत हुने काममा लागिरहेको आरोप लगाएका हुन्।  

'परिवर्तित व्यवस्थाप्रति जनताका अपेक्षा बढोत्तरी भएको छ। सरकार यी सबै विषयलाई बेवास्था गरिरहेको छ। बेखबर जस्तै देखिएको छ। राज्यका निकायलाई नियन्त्रणमा लिन राज्य उद्दत भइरहेको छ,' सबै विपक्षीको तर्फबाट बोलेका बस्नेतले भने, 'स्वार्थ समूहको पृष्ठ पोषण र वैशाखीमा बनेको सरकारले उनीहरूकै हीत गर्नु सरकारको नीति र नियती भइरहेका छन्।'

उनले सरकारलाई दुई तिहाइको दम्भ नदेखाउन पनि चेतावनी दिए।  उनले दुई तिहाइको सामर्थ्य देखाएर कुलमान घिसिङलाई स्पष्टीकरणको नौटंकी गर्दै हटाइएको पनि आरोप लगाए।

'दुई तिहाइको सामर्थ राष्ट्रसेवकको मानमर्दन गर्न प्रदर्शन गरिएको छ। स्पष्टीकरणको नौटंकी रचेर आफ्नो गलत कर्तुतलाई छोप्ने प्रपन्च गरिएको छ,' उनले भने, 'जलमाफीयाको स्वार्थ पूरा गर्न बक्यौता उठाउन नदिनेमा आधारित छ भन्ने जनताले बुझेको छ।'

भिडिओ:

बस्नेतले चार महिनापछि स्वत:अवकाशमा जाने कर्मचारीलाई हटाएर राज्य हद पार गरेको पनि टिप्पणी गरे। 

'कहिले काहीँ लाग्छ सबैले प्रश्न गरेका छन्- चार महिनापछि स्वत: अवकाशमा जाने राष्ट्रसेवकमाथि राज्य यो हदमा किन गयो। सरकारको औचित्य नकाम सावित हुँदै गएका छन्। चार महिना पनि टिक्न सकिन्न भन्ने भएर होला बर्खास्त गर्ने निर्णयमा पुग्यो'उनले भने। 

कुशल व्यवस्थापकलाई पुरस्कृत गर्नुपर्नेमा सरकार उल्टोबाटो हिँडिरहेको उनको भनाइ छ।  

त्यस्तै उनले कुलमान नियुक्ति भएको ४५ दिनमा पोखरा र काठमाडौँ जस्ता ठूला सहरमा लोडसेडिङ अन्त्य भएको, अहिले ९९ प्रतिशत जनता विद्युतको पहुँचमा पुगेको पनि सुनाए।   

सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई हटाएर हितेन्द्रदेवलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad