कारोबार


जब नेपाललाई माया गर्ने श्रीमानको अस्तु सेलाउन अमेरिकादेखि पोखरा आइन् लोरेटा

जब नेपाललाई माया गर्ने श्रीमानको अस्तु सेलाउन अमेरिकादेखि पोखरा आइन् लोरेटा

जमुना वर्षा शर्मा
चैत १३, २०८१ बुधबार १२:२४, पोखरा

अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन्, उति नै उनका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए। सराङकोटको डाँडामा उभिँदा, उनका गह्रौँ मनका भावनाहरू बाँदलसरि मडारिएका थिए। 

केही वर्षअघि उनी श्रीमान् फिल हुलवर्कको हात समाउँदै यही सिँढीहरू उक्लिएकी थिइन्। सँगै खिचिएका तस्बिरहरू, सूर्योदयको सुनौलो रङ, नीलो आकाशको शान्ति, कुहिरोले बनाएका अनौठा आकृतिहरू, हरियाली डाँडाहरू, चराचुरुङ्गीका चिरबिर सबै त्यही थिए।

थिएन त केवल एउटा साथ, एउटा स्पर्श, एउटा हात, जसले उनलाई जीवनभर समातेर राख्ने वाचा गरेको थियो। अब तस्बिरहरू केवल याद बनेका थिए, सूर्योदयको उज्यालोभन्दा मनको अँध्यारो गहिरो थियो र सिँढीहरू उक्लिने पाइला सहाराविहीन भएका थिए । 

नेपाललाई दोस्रो घर सम्झने ७६ वर्षीय अमेरिकी नागरिक फिल हुलवर्कको नेपालप्रतिको अपार मायाले नै लोरेटालाई उनको अस्तु बोकेर नेपाल ल्याउने प्रेरणा दियो। अमेरिकाको डेल्टा एयरलाइन्समा कार्यरत फिल पहिलो पटक सन् २००७ मा नेपाल आएका थिए।

थाइल्यान्ड भ्रमणका क्रममा एक जना साथीले नेपालको प्राकृतिक सुन्दरताबारे सुनाएपछि उनको गन्तव्य नेपाल बन्न पुग्यो।

प्रकृतिसँग रमाउन मन पराउने हुलवर्क नेपालका विभिन्न स्थानमा पुगेर प्राकृतिक सौन्दर्यसँगै यहाँको जीवनशैली र संस्कृतिमा घुलमिल भए। जहाँ गए पनि, जहाँ पुगे पनि, उनलाई पोखराको सुन्दरताले नै सबैभन्दा बढी तान्यो।  

पोखराका सुन्दर दृश्य, संस्कृति र यहाँका मानिसहरूको मायालु स्वभावले फिललाई यति मोहित बनायो कि उनी हरेक वर्ष नेपाल आउन थाले। पोखराको शान्त वातावरण र फेवातालको किनारले उनलाई सान्त्वना र आनन्द प्रदान गर्थ्यो। एयरलाइन्सबाट सेवानिवृत्त भएपछि त उनले आफ्नो अधिकांश समय नेपालमै बिताउन थाले।

सन् २०१९ मा नेपाल बसाइका क्रममा फिल हुलवर्क नसा च्यापिएपछि बिरामी परे। लेकसाइड गौरीघाटस्थित होटल ‘रानीवन आर्केट’ मा बस्दै आएका हुलवर्कलाई होटल सञ्चालक तथा पर्यटन व्यवसायी हरि भुजेलले उपचारमा विशेष ध्यान दिए। तर, समस्या निको भएन। 

एक महिनापछि लोरेटा नेपाल आइन् र उनलाई आफ्नै देश लगेर उपचार गरिन्। विडम्बना एउटा समस्या समाधान नहुँदै उनलाई ‘ब्रेन ट्युमर’ भएको पत्ता लाग्यो। अन्ततः उपचारकै क्रममा छ महिनाअघि फिलको निधन भयो । बिरामी अवस्थामै नेपाललाई सम्झिरहेका फिलको आत्माको शान्तिका लागि उनकी पत्नी लोरेटा श्रीमान्को अस्तु लिएर नेपाल आएकी हुन्। 

श्रीमान्को अस्तु लिएर सराङकोट डाँडामा पुगेकी लोरेटासँग पर्यटन व्यवसायी हरि भुजेल, पोखराकै अर्का साथी विनय पौडेल र लोरेटाकी साथी सेरी पनि थिए। लोरेटाले स्वर्गीय श्रीमान्को तस्बिरलाई स्पर्श गर्दै पुष्पगुच्छा अर्पण गरिन्। मुस्कुराइ रहेको श्रीमान्को तस्बिर एक टकले हेर्दै गर्दा लोरेटाका आँखा आँसुले भरिए।  मौनताबीचका अनगिन्ती भावनासँगै उनले श्रीमान्को अस्तु सराङकोटको डाँडामा विर्सजन गरिन्। फिलसँगको सम्झनालाई उनले नेपालकै माटोसँग मिलाइन्। 

फिलले आफ्नै जीवनकालमा नेपाललाई माया गर्दै बारम्बार आफ्नो अस्तु नेपालमा लैजान लोरेटालाई अनुरोध गर्थे।

“फिल नेपालका प्रकृति र संस्कृतिमा रमाउने असाध्यै सरल र मिजासिलो व्यक्ति हुनुहुन्थ्यो”, होटल सञ्चालक हरि भुजेलले भने, “हामीले धेरै पटक हाम्रो घरको भान्सामा सँगै नेपाली खाना खाएका छौँ, होली पर्व मनाएका छौँ, मठमन्दिर देवालय पुगेका छौँ, थुप्रैथुप्रै सम्झना छन् फिलसँग”, फिलको अन्तिम इच्छालाई लोरेटाले पूरा गरेर नेपालसँगको सम्बन्धलाई अझ गाढा बनाएको भुजेलले बताए।  

फिल नेपालीको आतिथ्य र यहाँको जीवनशैलीको खुलेर प्रशंसा गर्थे। विशेष गरी, पोखराका स्थानीय क्षेत्रमा गएर लोकल रक्सी स्वाद मानेर पिउने उनको बानी थियो।

“फिल नेपाललाई यति माया गर्नुहुन्थ्यो कि उहाँ वर्षको झन्डै तीन महिना  नेपालमै बिताउनुहुन्थ्यो।  दुई महिना एक्लै रहनुहुन्थ्यो भने एक महिना लोरेटासँगै,” भुजेलले भने। 

डेल्टा एयरलाइन्समै कार्यरत लोरेटा हरेक वर्ष एक महिनाको बिदा मिलाएर श्रीमान्सँग पोखरा घुम्न आउने गर्थिन्। अहिले पनि, लोरेटाको नेपालप्रतिको निरन्तर आगमनले फिलको सम्झनालाई अमर बनाइरहेको छ।

“फिलको नेपालप्रतिको माया र लोरेटाको समर्पणले यो क्षणलाई झन मार्मिक बनाएको छ। फिलको आत्मा नेपालका पहाड, नदी र नेपालीहरूको हृदयमा सधैँ बाँचिरहनेछ”, फिलका साथी विनय पौडेलले भावुक हुँदै भने।

एउटै एयरलाइन्समा कार्यरत हुँदा सुरु भएको प्रेमलाई यो जोडीले विवाहमा परिणत गरेको थियो। जीवनको उत्तरार्द्धतिर आउँदा पनि फिलसँग बिताएका प्रत्येक क्षण लोरेटाका लागि अविस्मरणीय तथा प्रेमले भरिपूर्ण रह्यो ती दिनहरू सम्झँदै लोरेटाले एउटा पश्चात्ताप व्यक्त गरिन्। 

“मैले सन्तान जन्माउने चाहना गरिनँ, तर अहिले कताकता एक्लोपन महसुस गर्छु, मेरो साथमा फिल छैन तर ऊसँगका बिताएका हरेक पल र उसले टेकेको माटो मलाई उत्तिकै प्रिय छ” उदास भएर लोरेटाले भनिन्, “फिल अब भौतिक रूपमा हाम्रो साथमा छैनन्, तर उनको आत्मा सधैँ नेपालमै रहनेछ । पोखरामा उहाँको सम्झना सधैँ जीवन्त रहनेछ ।” रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad