आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदै छ।
सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्ष दलका तीन शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता हुने तय गरिएको हो। प्रधानमन्त्री ओली सत्तारुढ एमालेका अध्यक्षसमेत हुन्।
तीन शीर्ष नेताबीच अपराह्न ४ बजे भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले नेपालखबरलाई जानकारी दिए।
'दिउँसो ४ बजे शीर्ष तीन नेता मात्रै छलफलका लागि बस्ने तय भएको छ', उनले भने।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त हुनै बाँकी छ। त्यसका लागि सिफारिस समिति (सर्च कमिटी) समेत गठन हुन सकेको छैन। सिफारिस समितिमा सहमति जुटाउन तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको खरेलले बताएका छन्।
यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सर्वसम्मतिमा सम्भावित पदाधिकारीको सूची तय गर्न नसकिएको भन्दै जिम्मेवारीबाट हात झिकेको थियो।
यसअघि शीर्ष तीन नेताबीच चैत ६ गते नै बैठक गर्ने तयारी थियो। तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको तराई-मधेस जागरण अभियानका लागि काठमाडौँबाहिर गएपछि भेट हुन सकेन।
Shares

प्रतिक्रिया