राजनीति


राष्ट्र संघका विभिन्न परिषद्‌मा नेपालको लबिइङ, मन्त्री राणा भन्छिन्- धेरै जना सकारात्मक पाएँ

राष्ट्र संघका विभिन्न परिषद्‌मा नेपालको लबिइङ, मन्त्री राणा भन्छिन्- धेरै जना सकारात्मक पाएँ

नेपालखबर
चैत ८, २०८१ शुक्रबार १७:४१, काठमाडौँ

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारत भ्रमणका क्रममा विभिन्न देशका विदेशमन्त्रीहरूसँग भएका दुईपक्षीय भेटवार्तामा नेपालले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्लगायत विभिन्न परिषदमा दिएको उम्मेदवारीमा सहयोग गर्न आग्रह गरेको बताएकी छन्।

नेपालको उम्मेदवारीप्रति धेरैले सकारात्मक जवाफ दिएको उनको भनाइ छ।

भारत भ्रमणबाट शुक्रबार स्वदेश फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो जानकारी दिएकी हुन्।

उनले भनिन्, ‘भ्रमणका क्रममा भएका दुईपक्षीय भेटवार्ताका क्रममा मानव अधिकार परिषदमा नेपालको क्यान्डिडेसी २०२७ देखि २०२९, संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद्मा २०२९ देखि २०३१ सम्म तथा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा २०३७ देखि २०३८ सम्मका लागि नेपालले दिएको उम्मेदवारीबारे पनि समर्थनका लागि आग्रह गरेको छु। र, धेरै जनाले पोजेटिभ रेस्पोन्स दिनुभएको छ।’

उनले यस भ्रमणका क्रममा भारतका विदेशमन्त्रीका अतिरिक्त मोल्दोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, जर्जिया, युक्रेन र फिलिपिन्सका परराष्ट्रमन्त्रीहरू तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशकसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन्।

उनले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिक्की गिलसँग भएको भेटमा अमेरिकाले नेपाललाई दिँदै आएको आवश्यक सहयोगको निरन्तरता तथा हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाइका लागि सहजीकरण गर्न आग्रह गरेको जानकारी दिइन्।

त्यसैगरी युक्रेनी समकक्षीसँगको भेटमा युक्रेनमा युद्धबन्दीको रूपमा रहेका ७ जना नेपालीको रिहाइका लागि आग्रह गरेको उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad