राजनीति


भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ

भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई भारत भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रमन्त्री डा आरजु राणा देउवा । तस्बिरः हरिराम भेटुवाल/रासस


नेपालखबर
चैत ८, २०८१ शुक्रबार १७:९, काठमाडौँ

परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकार परिवर्तन गर्ने आशयमा नरहेको आफूले पाएको बताएकी छिन्।

छिमेकी राष्ट्र भारतको भ्रमण सकेर शुक्रबार नेपाल फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा नभएको भए पनि भारतीय पक्षको समर्थन लोकतान्त्रिक गतिविधिलाई नै रहने पाएको स्पष्ट पारिन्।

‘यहाँको राजनीतिक गतिविधिको बारेमा धेरै कुरा त गरेनौँ। तर उहाँहरूको सपोर्टचाहिँ डेमोक्य्राटिक सिस्टमलाई नै छ भन्ने कुरा उहाँहरूको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ,’ राणाले भनिन्, ‘अहिलेको सरकारसँग एकदमै इन्गेज्ड हुनुहुन्छ। सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ।’

प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले भेटका लागि प्रस्ताव नै नगरेको र विदेशमन्त्री एस जयशंकरसँग समकक्षीको हिसाबमा भारतीय भेटवार्ता भएको बताइन्।

उनको भनाइ थियो, ‘भारतीय विदेशमन्त्रीसँग समकक्षीको हिसाबले भेट मागेको हो र मैले भेटेको पनि हुँ। मोदीजीसँग भेट मागिएको पनि होइन। भेट पनि भएन।’

परराष्ट्रमन्त्री राणाले आफ्नो यसपटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको दाबी पनि गरिन्।

उनले भनिन्, ‘यस भ्रमणका क्रममा भारतका विदेशमन्त्री डा एस जयशंकर र अन्य देशका समकक्षीहरूसँग भेटवार्ता भयो र राइसिना डायलगमा पनि सम्बोधन भयो। त्यसैगरी भारतबाट नेपालले खरिद गर्ने विद्युत् पनि निरन्तरताका लागि पहल गरेँ। त्यसैले नेपालको कूटनीतिक सम्बन्ध विस्तारमा यो भ्रमण फलदायी रह्यो।’

मन्त्री डा राणाले नेपालमा देखिएको विद्युत् अभावको समाधानको लागि पनि कूटनीतिक प्रयास गरेको बनाइन्।

‘भारतमा रहँदा मैले हाल नेपालमा देखिएको विद्युत् अभावको समाधानको लागि पनि कूटनीतिक प्रयास गरेँ,’ उनको भनाइ थियो, ‘यसमा खासगरी नेपाल र भारतबीच रहेको विद्यमान द्विपक्षीय सम्झौताअनुसार नै इन्डियन इनर्जी एक्सचेन्जमार्फत नेपालमा आपूर्ति हुने विद्युतको परिमाणमा वृद्धि गर्न अनुरोध गरेकी छु।’

फागुन २६ भारत भ्रमणमा गएकी मन्त्री राणा शुक्रबार (चैत ८ गते) स्वदेश फर्केकी हुन्। 

धार्मिक भ्रमणका सिलसिलामा फागुन २६ गते भारत प्रस्थान गरेकी उनले भारतीय विदेश मन्त्रालयले चैत ४ देखि नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रममा सहभागी भएकी थिइन्।

त्यस क्रममा उनले चैत ५ गते भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad