राजनीति


तीन प्रतिस्थापन विधेयक टेबुल गरेपछि थाहा भयो नियमावली बाझिएको कुरा

तीन प्रतिस्थापन विधेयक टेबुल गरेपछि थाहा भयो नियमावली बाझिएको कुरा

नेपालखबर
चैत ८, २०८१ शुक्रबार १४:१८, काठमाडौँ

प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधि सभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रिय सभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त प्रस्तावमाथिको छलफल सुरु भएलगत्तै सांसद रेणु चन्दले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ९३ मा अध्यादेशमार्फत ल्याइएको विधेयकलाई प्रतिस्थापन विधेयकका रूपमा संसद्मा ल्याउनुपर्ने भए पनि ‘प्रतिस्थापन विधेयक’ भन्ने शब्द नराखिएकाले छलफल हुन नसक्ने भन्दै नियमापत्ति गरेकी थिइन्। उनको नियमापत्तिपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नियमावलीमा भएका व्यवस्था बाझिएकाले केही समयका लागि बैठक स्थगित भएको घोषणा गरे।

“यो विधेयक सन्देशसहित प्रतिनिधि सभाबाट आएको हो। प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्थाअनुसार प्रतिनिधि सभाले पठाएको हो। तर राष्ट्रिय सभा नियमावलीमा भएको व्यवस्था केही फरक रहेको र बाझिएको छ। हामीले मान्ने राष्ट्रिय सभा नियमावलीको व्यवस्था हो,” उनले भने, “यस विषयमा थप केही छलफल गर्नुपर्ने भएकाले १५ मिनेटका लागि बैठक स्थगित हुन्छ।”

आजै राष्ट्रियसभामा तीन विधेयक टेबुल भएका छन्। राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित टेबुल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad