राजनीति


म ०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन: प्रचण्ड

म ०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन: प्रचण्ड

नेपालखबर
चैत ८, २०८१ शुक्रबार १४:३५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन्।

नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगन्ज पुगेका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको धारणा राखेका हुन्।

सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने उनको भनाइ थियो।

सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम सरकारमा रहँदा गरिएको दाबी पनि उनले गरे।

अध्यक्ष प्रचण्डले भने, ‘सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो।’

अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र बेथिति प्रोत्साहन गरेको आरोप लगाउँदै राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको टिप्पणी गरे।

यसअघि आयोजित नागरिक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले वीरगन्जको विकाससँगै देशभर देखिएका स्वास्थ्य, शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको उल्लेख गर्दै जागरण अभियान जनसम्पर्कको उद्देश्यले अघि बढाइएको बताए।

संविधान निर्माणको क्रममा नै दश वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रष्ट पारिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो समयावधि पूरा हुन लागेको भन्दै संविधानको समीक्षा र परिमार्जन आवश्यक रहेको धारणा राखे।

त्यसका लागि जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडक केन्द्रित तराई–मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिने जानकारी दिए।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले आफ्ना समस्या र सुझाव राखेका थिए। त्यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रीय पदाधिकारी, मधेस प्रदेशका केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज, विभिन्न तहका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

त्यसअघि आज बिहान अध्यक्ष प्रचण्डले वीरगन्जका विभिन्न स्थानमा मर्निङ वाक गर्दै स्थानीय जनतासँग भेटघाट गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad