राजनीति


खानेपानीका ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन हुँदैछ: खानेपानीमन्त्री

खानेपानीका ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन हुँदैछ: खानेपानीमन्त्री

फाइल तस्बिर


नेपालखबर
चैत ८, २०८१ शुक्रबार १३:१२, काठमाडौँ

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको दिगो समाधान गर्न ठूला खानेपानी जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्न सुनकोशी तथा राप्ती खोला डाइभर्सन गरी थोक वितरण प्रणालीमार्फत खानेपानी व्यवस्थापन गर्नेलगायत ठूला जलाशययुक्त खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन कार्य अघि बढाइएको बताए।

मन्त्री यादवले सुक्खा मौसमसँगै वर्षा नहुञ्जेलसम्म तराई मधेसमा चापाकल, नदीनाला सुकी पानीको हाहाकार हुनसक्ने समस्या सम्बोधनका लागि डिप ट्युवेलबाट आयोजना सञ्चालन गरी खानेपानी आपूर्ति बढाउने मन्त्रालयको योजना रहेको जानकारी दिए।

तराई–मधेसका जिल्लामा भूमिगत पानीको सतह घट्दै गइरहेको हुँदा तराईका जिल्लामा तत्काल समस्या समाधान गर्न सम्बन्धित आयोजना कार्यालयबाट डिप बोरिङका आयोजनाहरु सुरु भइरहेको उनको भनाई थियो। 

मन्त्री यादवले भने, ‘लामो समयदेखि निर्माणाधीन अवस्थामा रही अधुरा रहेका तराई मधेसका ‘ओभरहेड ट्यााङ्की’लगायत २८० खानेपानी आयोजना प्रदेश र स्थानीय तहसँग समन्वय गरी आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याउने गरी बजेटको तयारी भइरहेको छ। चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट बहुवर्षीय स्रोत सहमति लिई तराई मधेसका ३८ वटा खानेपानी आयोजनाको ठेक्कामार्फत निर्माण कार्य अघि बढाइएको छ।’

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा पानीका  स्रोत÷मुहानहरूलाई पुनर्जीवित गराउन अध्ययन–अनुसन्धान र मुहान संरक्षण कार्य सुरु गर्ने योजना रहेको मन्त्री यादवले बताए। 

सुरक्षित खानेपानीको सुनिश्चितताका लागि प्रत्येक खानेपानी प्रणालीमा ‘क्लोरिनेसन युनिट’ जडान कार्य अघि बढाइएको छ,’ मन्त्री यादवले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad